Skip to main content

दोधारा–चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाहको जग्गा प्राप्तिमा ढिलाई

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह

कञ्चनपुर : कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न जग्गा प्राप्तिमै सकस भइरहेको छ । दोधारा–चादँनी नगरपालिकाको मायापुरी र गौरीशंकर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । 

तर जग्गा प्राप्त गर्न भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाएको छ तर केन्द्रबाट ढिलाइ भइरहेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले निकुञ्जले वन विभागमा जग्गा प्राप्तिको फाइल पठाइसकेको बताए । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाह अघि बढाउन भारतीय पक्षबाट चासोका साथ सक्रियता देखाएको उनले बताए । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत भइसकेको बताउँदै निर्देशक गजुरेलले जग्गा प्राप्तिको विषय चाँडो अघि बढाउनुपर्नेमा जोड दिए ।

गौरीशंकर र मायापुरी सामुदायिक वन क्षेत्रको ६३ बिघा क्षेत्रफल प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ । सो क्षेत्रमा रहेका दुई हजार रुख कटानका लागि भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ । करिब ६ अर्ब लागतमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ । सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ ।

पहिलो चरणमा सडक पहुँच र दोस्रो चरणमा रेलवेको पहुँचका लागि पूर्वाधार निर्माण गरिने योजना छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा सबै प्रक्रिया पूरा गरेर फाइल विभागमा पेस गरिसकेको बताए । एक महिनाअघि नै फाइल पेस गरिसकिएको उनले बताए ।