Skip to main content

९ महिना देखि तलब नपाएपछि सीमा हेल्थडेस्कका कर्मचारी आन्दोलनमा

Submitted by editor on
कञ्चनपूरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झूलाघाट र दार्चुला गरी ४ वटा हेल्थडेस्कका २७ जना स्वास्थ्यकर्मीले साउनयताको तलब नपाएका हुन् ।
ईबिगुल संवाददाता
हेल्थडेस्कका कर्मचारी आन्दोलनमा

महेन्द्रनगर :  सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा सीमानाकाका हेल्थडेस्कमा खटिने स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब पाएका छैनन् ।

कञ्चनपूरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झूलाघाट र दार्चुलाको गरी ४ वटा हेल्थडेस्कका २७ जना स्वास्थ्यकर्मीले साउनयताको तलब नपाएका हुन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीले लामो समयदेखि पारिश्रमिक नपाउँदा आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् ।

गड्डाचौकीस्थित हेल्थडेस्कमा कार्यरत ल्याव टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घरखर्च चलाउनै मुस्किल परिरहेको दुखेसो गरिन् । ‘नौ महिना भयो तलब आएको छैन । अब त खर्च चलाउन गाह्रो भइसक्यो’ धामीले भनिन् । ‘बजेट पास भएको छैन काम गर्दै गर्नुस् भनेको पनि ९ महिना भइसक्यो ।’ गड्डाचौकी हेल्थडेस्कमा ११ जना स्वास्थ्यकर्मी कार्यरत छन ।

लामो समयदेखि तलब नपाएपछि कार्यालय आउनजानसमेत समस्या हुने गरेको स्वास्थ्यकर्मीले दुखेसो पोखेका छन् । ‘हामीले पटक–पटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौं’ धामीले भनिन् । ‘अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो एक गतेदेखि सेवा नै बन्द गर्छौं ।’

हेल्थडेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै नभई करार पनि थप नभएको बताए । हेल्थडेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताए । स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन हेमराज जोशीले बताए ।

‘संघीय सरकारबाट बजेट निकासा नहुँदा साउनयता तलब खुवाउन सकिएको छैन’  उनले भने । ‘बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल अगाडि बढाएका छौं ।’