Skip to main content

मुख्यमन्त्री सोडारीले विहीबार विश्वासको मत लिने, एमाले मत दिन तयार

Submitted by editor on
एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र एक सांसद गरी सोडारीले २८ जनाको विश्वासको मत पाउने पक्कापक्की भएको छ
ईबिगुल संवाददाता
एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद गरी सोडारीले २८ जनाको विश्वासको मत पाउने पक्कापक्की भएको छ

धनगढी :  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिने भएका छन । नेकपा एमालेले पनि विश्वासको मत दिने पक्कापक्की भएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन ।

मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका छन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने जनाएका छन । 

विश्वासको मतका लागि बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ । उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

 वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने देखिएको छ। 

सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुनेछ । अहिलेसम्म सोडारीसहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । माओवादी र एमाले भने सरकार बाहिर छन् । सुदूरपश्चिममा ५३ सांसद छन। 

सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ । एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २  र स्वतन्त्र एक सांसद गरी सोडारीले २८ जनाको विश्वासको मत पाउने पक्कापक्की भएको छ