Skip to main content

धनगढी उपमहानगरमा तेस्रो चरणको हरियाली कार्यक्रम प्रारम्भ

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीलाई हरियो, सफा र सुन्दर

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ ।
धनगढीलाई हराभरा बनाउने अभियानअन्तर्गत तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रम जारी छ । आज (मंगलबार) मात्र धनगढी उपमहानगरपालिका–१ हुलाकी सडक खण्डमा विरुवा रोपेर कार्यक्रमको प्रारम्भ गरिएको छ । वडा नम्बर १ का वडाअध्यक्ष सन्तोष मुडभरीले तेस्रो चरणको खण्ड ‘घ’ मा विरुवा रोपेर हरियो, सफा र सुन्दर वडा बनाउने कार्यको प्रारम्भ गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाका अनुसार तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रममा पाँच हजार पाँच सय बढी विभिन्न प्रजातीका बोट रोप्ने लक्ष्य लिइएको छ । धनगढी विमानस्थल जोड्ने सडक तथा वडा नम्बर १३, चक्रपथ र वडा नम्बर २ देखि वडा १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा ठूलो परिमाणमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानअन्तर्गत धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा लगाइने तयारी छ । उपमहानगरपालिका कार्यालयले तेस्रो चरणको हरियाली अभियानमा विमानस्थल सडक, चक्रपथ र हुलाकी सडकको दुवै किनारामा विभिन्न प्रजातीका विरुवा रोपिने जनाएको छ ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले भने– तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानमा साढे पाँच हजार बढी विरुवा रोपिने छन्। उपमहानगरपालिकाले वृहत वृक्षारोपण अभियान सुरु गरेदेखि नै आम नगरबासीलाई समेत अभियानमा सहभागी बनाउँदै आएको छ। वृक्षारोपण अभियानका क्रममा उपमहानगरपालिकाले आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने– नागरिकबाट प्राप्त भएको रकमबाट हामीले विरुवा र घेरबार किनेर वृक्षारोपण कार्य अघि बढाएका छौ। उपमहानगरपालिकाले हरियालीयुक्त धनगढी सहर नारासहित चालू आर्थिक वर्ष २०७९÷८० बाट वृक्षारोपण अभियान अघि बढाएको छ । अहिलेसम्म उपमहानगरपालिकाभित्रको ६ लेन सडकको बीच (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ ।

त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । बजार क्षेत्रका निर्माण भइसकेका सडकहरूमा समेत बृक्षारोपण भएको छ। उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली (ट्री–गार्ड) राख्नुका साथै मल हाल्ने, सिँचाईं गर्ने र नियमित रुपमा गोडमेल गर्ने काम गरिरहेको छ। हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरणसम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने जनाइएको छ ।