Skip to main content

सुदूरपश्चिममा जलविद्युत उत्पादनको हब बन्दै बझाङ

Submitted by editor on
प्रताप ओली
जलविद्युत


बझाङ : विद्युत उत्पादनमा बझाङ पहिलो नम्बरमा आउने भएको छ । बझाङमा ७० मेघावाट क्षमताका ३ वटा कांलगा हाइड्रोका आयोजनासहित अब निर्माण हुने चैनपुर सेती (२१० मेगावाट), बझाङ अप्पर सेती (२१६ मेगावाट), सेती नदी–३ (८६ मेगावाट), सुनिगाड (२५ मेगावाट) र मालुमेला सेती नदी पिआरओआर (६४ मेगावाट) क्षमता आयोजना छन् । 

१ मेगावाट क्षमताको जेउडेगाडसहित अन्य सानाठूला विद्युत यहाँ छन् । जलविद्युत उत्पादनमा पछाडि परेको सुदूरपश्चिम प्रदेश अब बझाङमा उत्पादन हुने विद्युतले कायापलट हुने भएको छ। 

बझाङको साइपाल हिमालदेखि बगेको सेती नदीलाई अब बाहिर निस्केर आफ्नै लयमा बग्न सजिलो छैन । विद्युत गृहले सेती नदीलाई विभिन्न ठाउँमा सुरङभित्र लुकाउने भएका छन् । तर, यति धेरै विद्युत बझाङमै बन्ने भए पनि यतिबेला यहाँका आधा क्षेत्रमा अन्धकार छ । विद्युत पुगेकै ठाउँमा पनि नियमित विजुली आउँदैन । आकाशमा बादल घेरिन लाग्दा र हावाले पात हल्लाउनासाथ विद्युत अवरुद्ध हुँदा बझाङबासी आजित भइसकेका छन् । विद्युत अनियमित हुँदा थुप्रै विद्युतीय सामग्री बिग्रेको सदरमुकाम चैनपुरका व्यापारी मानमति बम सिंहले बताए । नियमित विद्युत आपूर्ति नहुँदा स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको उनको भनाइ छ । 

अनियमित विद्युत आपूर्तिले स्वास्थ्य, सञ्चार र व्यवसायमा ठूलो समस्या पु¥याइरहेको छ । जिल्ला अस्पताल बझाङमा भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने, अप्रेसन गर्नुपर्ने, भिडियो एक्सरे, एक्सरेलगायत सबै सेवा प्रभावित हुने गरेको छ। आफू निरन्तर लाइन सुधारका लागि लागिरहेको तर लामो रुट र अग्लो ठाउँबाट लाइन तानिएका कारण विद्युत सेवा नियमित हुन नसकेको विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्काले जानकारी दिए ।

बझाङलाई उज्यालो बनाउने अभियान
बझाङको राष्ट्रिय प्रसारण लाइनमा कालंगा हाइड्रोको १३२÷३३ केभी प्रसारण लाइन जोड्नका लागि अबको केही समयपछि ठेक्का सम्झौता हुने भएको छ । बझाङमा जोडिएको डडेल्धुराको स्याउलेदेखि बझाङ चैनपुरसम्मको ३३ केभिए लाइनमा बारम्बार समस्या देखिन थालेपछि नेपाल विद्युत प्राधिकरणले कालंगा हाइड्रोसँग सम्झौता गरी १३२÷३३ केभिए लाइन जोड्न लागेको हो । 

नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली स्तरउन्नती तथा विस्तार आयोजना प्रमुख बिजयसेन खड्काका अनुसार टेन्डर आह्नान भएर टेलमस इन्डिया कम्पनीलाई ठेक्का परेको र अबको दुई हप्ताभित्र सम्झौता हुने बताए। उनका अनुसार ठेकेदार तथा निर्माण कम्पनीले सम्झौता भएको मितिले १० महिनाभित्र यो सबस्टेशन निर्माणको काम गरिसक्नुपर्ने हुन्छ ।

करिब १५ करोड लागतमा नेपाल विद्युत प्राधिकरणअन्तर्गतको वितरण प्रणाली स्तरउन्नती तथा विस्तार आयोजनाले टेलमस इन्डिया कम्पनीसँग सम्झौता गर्दैछ। लामो र अग्लो स्थानबाट लाइन ल्याइएकाले बझाङ सामान्य मौसम परिवर्तन हुँदा पनि बिद्युत अवरुद्ध हुँदै आएको छ । यो कार्य सकिएपछि बझाङमा विद्युत अवरुद्ध हुने कार्य बिरलै हुने नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले विश्वास व्यक्त गरे । 

उनले भने, ‘बझाङको समस्याबारे म पूर्णरूपमा परिचित छु । त्यहाँ धेरै लामो लाइन, जंगल, भीर र सानो पोलमा विद्युत लाइन तानिएकाले मौसम परिवर्तनदेखि अरु बेला पनि सामान्यतया विद्युत अवरुद्ध भइरहन्छ । अब कालंगा हाइड्रो नै यो समस्या समाधान गर्ने उपयुक्त विकल्प हो । हामी प्रयासमा छौं। अबको १० महिनाभित्र बनिसक्छ। त्यसपछि बझाङबासीलाई समस्या हुँदैन ।’

कालंगा हाइड्रो निर्माणका लागि माछापुच्छ्रे, एनएमबी र सिभिल बैंकको ८० प्रतिशत र कालंगा हाइड्रो प्रालिको २० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ । ३ वटा आयोजना प्रवर्द्धन गर्न क्रमशः कालंगा हाइड्रो इनर्जी कम्पनी (कालंगागाड १५.३३ मेगावाट), सानीगाड हाइड्रो कम्पनी (माथिल्लो कालंगागाड ३८.४६ मेगावाट) र बुंगल हाइड्रो कम्पनी (सानीगाड १०.७० मेगावाट) स्थापना गरिएको छ । 

उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिएको छ । हालः कालंगाले उत्पादित विद्युत बझाङमा सवस्टेशन नहुँदा वितरण गरेको छैन ।