Skip to main content

बालुवाटार बैठकपछि रमेश लेखकले भने– छलफल सकारात्मक ढंगले अगाडि बढेको छ

Submitted by editor on
ईबिगुल संवाददाता
रमेश लेखकले

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बालुवाटारमा भएको सत्तापक्ष र प्रतिपक्षबीचको बैठक सकारात्मकरूपमा अगाडि बढेको बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय छानबिन समिति बनाउनेतर्फ नै छलफल अघि बढेको बताए ।

‘छलफल सकारात्मक छ। छानबिन समिति बनाउनेतर्फ नै बैठक गइरहेको छ । व्यक्ति वा सहकारीभन्दा पनि मूलभूत जे कुरा उठेको छ त्यो कुरा हुनुप¥यो भन्ने हाम्रो अडान हो,’ उनले भने। उनले सहकारीमा लाखौं बचतकर्ताको करोडौं रकम अपचलन भएको र निजी कम्पनीमासमेत रकम अपचलन भएकाले त्यसमाथि छानबिन हुनुपर्ने बताए ।

‘सहकारीको अर्बौ रकम अपचलन भएको छ। उक्त रकम निजी कम्पनीमा गएको छ। गोरखा मिडियामा आएको छ। गोरखा मिडियाका सञ्चालक नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। त्यसमाथि छानि गरौं भनेका हौं । अब भाषा के राख्ने हो त्यो मिलाऔं,’ उनले भने।
प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेले संसदको रोस्टमबाट कांग्रेस नेतामाथि लगाएको लाञ्छानाका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताए। उनले प्रधानमन्त्रीसँग त्यसको जवाफसमेत मागेको बताए।