Skip to main content

सुदूरपश्चिममा गठबन्धनभीत्र भागबण्डा मिलाउन तीन मन्त्रालय फुटाईदै

Submitted by editor on
मुख्यमन्त्री सोडारीले भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन ।
शिवराज भट्ट
भागबण्डा मिलाउन  मन्त्रालय फुटाउने तयारी

धनगढी : सुदूरपश्चिममा गठबन्धनभीत्र भागबण्डा मिलाउन  मन्त्रालय फुटाउने तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई तीन÷तीन वटा मन्त्रालय दिनका लागि मन्त्रालय फुटाउन लागिएका हुन ।

सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित ७ वटा मन्त्रालय छन । तीन वटा फुटाएर १० मन्त्रालय बनाउने तयारी भएको हो । संविधानमा पनि कुल प्रदेश सभा सदस्यको २० प्रतिसत सम्म मन्त्रालय बनाउन पाउने प्रावधान छ । सुदूरपश्चिममा ५३ प्रदेश सभा सिट छ । 

नेकपा एमाले (११), माओवादी सभामुख सतिह (११), उन्मक्तिको रञ्जीता पक्षका २ जना र स्वतन्त्र सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी (४) का नेता दीर्घ बहादुर सोडारी बैशाखको ६ गते मुख्यमन्त्री भएका हुन ।

मुख्यमन्त्री भएको झण्डै २ महिनापछि हुन लागेको सरकार विस्तारमा एमाले र माओवादीले तीन÷तीन मन्त्रालय मागेपछि सोडारीले मन्त्रालय विभाजन गर्न लागेका हुन । ‘उन्मुक्तिका २ जना प्रदेश सभा सदस्य नै मन्त्री भए, एमाले र माओवादीका ११÷११ प्रदेश सभा सदस्य छन, उनीहरुले तीन÷तीन मन्त्रालय मागेपछि मुख्यमन्त्रीसँग मन्त्रालय विभाजनको विकल्प छैन’ एकजना समाजवादीका नेताले भने ।

मन्त्रालय विभाजनका लागि नेकपा एमाले र माओवादी पनि तयार भएका छन । तर स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीले भने मन्त्रालय विभाजनले जनतामा नराम्रो संदेश जाने बताए । ‘एउटा मन्त्रालय विभाजन गरे त हो तर तीन÷तीन मन्त्रालय फुटाएर भागबण्डा मिलाउनु राम्रो होईन’ उनले भने । ‘यसले जनतामा नराम्रो सन्देश जान्छ ।’ उनले मन्त्रालय फुटाएमा आफु मन्त्री नहुने बताए । 

मन्त्रालय फुटाउने कुरामा नाउपाबाट भौतक पुर्वाधार मन्त्री बनेका कैलाश चौधरी पनि तयार छैनन । उनले पार्टी अध्यक्ष रञ्जीता चौधरी र मुख्यमन्त्री सोडारीलाई मन्त्रालय विभाजन नगर्न आग्रह गरेको बताए । 

मुख्यमन्त्री सोडारीले भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन । ‘मन्त्रालयहरु विभाजन गरेर १० मन्त्रालय बनाईन्छ, अनी त्यसपछि भागबण्डा मिलाएर सपथ हुने तयारी भएको छ’ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय स्रोतले भन्यो ।