Skip to main content

सुदूरपश्चिममा जम्बो मन्त्रीमण्डल, ८ जना मन्त्रीको केहीबेरमा सपथ हुदै

Submitted by editor on
ईबिगुल संवाददाता
न्त्रीमण्डल ब

धनगढी : सुदूरपश्चिममा अहिलेसम्मकै  जम्बो मन्त्रीमण्डल बनाईएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ८ जना मन्त्रीको नाम सपथका लागि भन्दै प्रदेश प्रमुखकोमा पठाएका छन । प्रदेश प्रमुखको कार्यालयले ८ जना मन्त्रीहरुको नाम सपथका लागि आएको जनाएको छ । सोमबार ५ बजेनै सपथ कार्यक्रम राखिएको छ । 

६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।

यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए तर सत्तारुढ दलभित्रै मन्त्रालय विभाजन गर्न नहुने, गरेपनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका छन ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमी व्यवस्था कृषि तथा सहकारी  मन्त्री नियुक्त गरेका थिए ।

योसँगै सुदूरपश्चिममा ११ सदस्यीय जम्बो मन्त्रीमण्डल बन्नेछ । यसअघि त्रिलोचन भट्टका पालामा ११ सदस्यीय मन्त्रीमण्डल बनेपनि मन्त्रालय विभाजन गरिएका थिएनन । राज्यमन्त्री सहित गरी ११ जना मन्त्री बनाईएका थिए । त्यसमा पनि संविधानको प्रावधान भन्दा बढी मन्त्री  बनाएको भन्दै मुद्धा परेको थियो । 

सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेश सभा छ । संविधानमा प्रदेश सभा सदस्य संख्याको २० प्रतिसत भन्दा बढी नबढने गरी मन्त्री बनाउन सक्ने प्रावधान छ । ५३ को २० प्रतिसत १० दसमलब हुन्छ । प्रदेश सरकारले यसलाई ११ मानेर मन्त्रीमण्डल विस्तार गरेको हो ।