Skip to main content

सामाजिक विकास मन्त्री भाटको पहिलो निर्णय– सार्वजनिक निकायमा विभेद नियन्त्रण

Submitted by editor on
ईबिगुल संवाददाता
ओमबिक्रम भाट (सरल)

धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रम भाट (सरल) ले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन् ।

सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री भाटले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेको बताए ।

उनले प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा हस्ताक्षर गरेका छन । 

त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहनेगरि तीन सदस्यीय आचारसंहिता निर्माण समिति समेत बनाइएको छ । समितिको सदस्यमा शाखा अधिकृत भुवन जोशी र अधिकृत छैटौ बिन्दु चटौत रहेका छन् ।

यसैबीच, मन्त्री भाटले बजेट निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा जिम्मेवारी प्राप्त गरेको भन्दै जनता र प्रदेशका पक्षमा बजेट बनाउन प्रयास गर्ने बताए । भाटले धेरै विलम्ब भइसकेपनि जनपक्षीय बजेट ल्याउन सक्दो भूमिका खेल्ने बताएका छन ।