Skip to main content

धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा बृद्धी

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी उपमहानगरपालिका

धनगढी :  धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २८ करोड पुगेको छ । अन्तिम लेखापरीक्षण प्रतिवेदनमा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा रहेको छ । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयको प्रतिशत २२ दशमलव ८४ प्रतिशत पुगेको छ । केन्द्रबाट धनगढीले एक अर्ब २२ करोड २५ लाख ७९ हजार तीन सय ६७ रुपैयाँ अनुदान पाएको थियो ।

धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा आन्तरिक आम्दानी २२ करोड १९ लाख २२ हजार पाँच सय २० रुपैयाँ नौँ पैसा रहेको थियो । धनगढी उपमहानगरपालिकाले एक आर्थिक वर्षमा पाँच करोड ७३ लाख २५ हजार एक सय २९ रुपैयाँ ४९ पैसाले आन्तरिक आम्दानी बढाएको हो । 

धनगढी उपमहानगरपालिकाको २०७७÷०७८ को आन्तरिक आम्दानी २० करोड ६९ हजार सात सय ४२ रुपैयाँ १६ पैसा थियो । आर्थिक वर्ष २०७९÷०८० मा धनगढी उपमहानगरपालिकाले योजनासहित आन्तरिक आम्दानी बढाएको देखिएको छ । 

महालेखा परीक्षकको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा धनगढीले एकीकृत सम्पत्ति र घर–जग्गा करबाट चार करोड नौ लाख २८ हजार तीन सय ३२, घर–जग्गा बहाल करबाट पाँच करोड ८७ लाख ३८ हजार नौ सय दुई रुपैयाँ २० पैसा, व्यवसाय करबाट तीन करोड ६३ लाख २२ हजार ९५, बहाल विरौटी शुल्कमा सात लाख २ हजार २ सय ८०, साना सवारी करबाट १० लाख ४६ हजार तीन सय ५० रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै, सरकारी सम्पत्ति बिक्रीबाट २ लाख ३२ हजार नौ सय ३१ रुपैयाँ, अन्य सेवा शुल्क वा बिक्रीबाट एक करोड २७ लाख ७० हजार सात सय ८१ रुपैयाँ सङ्कलन भएको छ ।

शिक्षा क्षेत्रको आम्दानी १४ लाख ७५ हजार तीन सय ८५, पार्किङ शुल्कबाट ६४ लाख ५३ हजार नौ सय ९८, नक्सापासबाट २ करोड ९८ लाख २७ हजार पाँच सय १२, सिफारिस दस्तुरबाट २ करोड नौ लाख तीन हजार आठ सय ३२, व्यक्तिगत घटना दर्ताबाट १४ लाख २ हजार ६ सय ४० राजश्व संकलन भएको छ ।
धनगढी उपमहानगरपालिकाले २६ करोड ८८ लाख ४६ हजार आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ संकलन भएको जनाएको छ ।