Skip to main content

कैलालीको घोडाघोडी सीमसार क्षेत्रमा गर्मी मौसममा हुने चरा गणना सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
चरा गणना तथा अनुसन्धान

धनगढी : कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसममा हुने चरा गणना तथा अनुसन्धान कार्य शुक्रबारदेखि सुरु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा नेपाल पंक्षी संरक्षण संघको आयोजनामा घोडाघोडी ताल क्षेत्रलगायत वरपरको क्षेत्रमा दोस्रो चरणमा असार ४ गतेसम्म चरा गणना तथा अनुसन्धान कार्य हुने भएको छ ।

चरा गणना तथा अनुसन्धान कार्यको शुभारम्भ डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले फिल्डमा खटिने संरक्षणकर्मीलाई शुभकामना दिए ।  पाँच दिनसम्म चल्ने चरा गणना तथा अनुसन्धान कार्यले नयाँ उपलब्धि हुने डिभिजन प्रमुख ठाकुरले बताए । उनले चरा गणनासँगै चरा र वनस्पतिको सम्वन्धका बारेमा समेत अनुसन्धान हुनुपर्ने बताए । 

‘हरेक वर्ष चराको अध्ययन तथा गणना त हुदै आएको छ तर ती चरालाई वनस्पतिसँग जोडेर अध्ययन हुनु पनि आवश्यक छ, चराको बास, आहारका लागि कुन–कुन वनस्पति लाभदायी छ, तिनको अध्ययन अनुसन्धान हुनसके स्थानीयलाई संरक्षणका लागि जागरुक गराउन सहज हुन्छ’ उनले भने ।

विगतमा गणना भइ प्रजातिका रुपमा थपिएका चरा अहिले हराउँदै जानुमा चराका लागि आवश्यक आहारविहारको तालमेल नमिलेको हुनसक्ने बताउँदै डिभिजन प्रमुख ठाकुरले चरा संरक्षणसँगै सिमसार क्षेत्रको वनस्पति संरक्षणमा पनि चासो दिनुपर्ने उल्लेख गरे ।

नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत हिरुलाल डंगौराले विगतदेखि संघले चरा गणना गर्दैआएको जनाउँदै पहिलो चरणमा भएको गणनामा थप एक नयाँ प्रजातिको चरा भेटिएको बताए ।   घोडाघोडीमा चरा संरक्षण नेटवर्कले सूचक प्रजातिको गणना गरिरहेको छ, गणनाको एकिन तथ्यांक केही दिनमा सार्वजनिक हुने जनाइएको छ ।