Skip to main content

कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा दर्शनार्थीहरुको घुँईचो

Submitted by editor on
चन्द्रकान्त अवस्थी
बेहडाबाबा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा दर्शनार्थीहरुको घुईचो लागेको छ । बेहडाबाबा मन्दिरमा पूजाआजा गर्न आज बिहानैदेखि घुइँचो लागेको हो । 

जेष्ठ शुक्ल दशमी अथवा गंगा दशहराको अवसरमा बेहडाबाबामा मेला लाग्ने गरेको छ । भारत र नेपालका विभिन्न स्थानबाट पूजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागेको छ । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको छ । मन्दिरमा पूजाआजा गर्ने र मेला भर्नेको घुइँचो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

उनका अनुसार नेपालीसहित भारतीय दर्शनार्थी भक्तजन पूजाआजाका लागि आउनेक्रम जारी छ । प्रसिद्ध यस मन्दिरको दर्शन र पूजाआजाका लागि नेपाल, भारत दुवै देशका श्रद्धालुहरु आउने गरेका छन् । बेहडाबाबामा गंगा दशहरा, चैत औशी, माघी, शिवरात्री र नयाँवर्षको अवसरमा मेला लाग्ने गरेको छ ।
धनगढी उपमहानगरपालिकाले यसपाली मेलामा आउने दर्शनार्थीहरुका लागि राती उज्यालोको ब्यवस्था गरेको छ । सडक सम्म्यार सवारी साधनलाई आवातजावतमा सजिलो पारिएको छ । धुलाम्य सडकमा दिनभरी ट्यांकरबाट पानी हाल्ने ब्यवस्था मिलाईएको छ । 

उपमहानगरले मन्दिर आसपासमा मदिरा बिक्रिमा यसअघि नै प्रतिवन्ध लगाएको छ भने आज उपमहानगरभरी विदा दिएको छ । नगरप्रहरीको पुरै टोली दर्शनार्थीहरुको सुरक्षा र समस्या समाधानमा खटाईएको छ । 

बेहडाबाबाको महिमा
भारतको उत्तर प्रदेशस्थित गोला स्थानका ग्वालाले बेहडाबाबाको पत्ता लगाएको विश्वास गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीका अनुसार राणाकालीन समयमा कैलालीको डमौलिया र धुरजन्ना क्षेत्रमा गोलाका ग्वाला गाईगोरु चराउन आएका थिए । 

तीमध्ये एक ग्वालाको गाईले बच्चा जन्माए पनि घरमा दुध दिने गरेको थिएन । गाईले दुध नदिने गरेको रहस्य खोज्दै जाँदा गाईले हालको बेहडाबाबामा रहेको शिवलिंगमा आफ्नो दुध खसाउने गरेको तथ्य भेटियो । पछि ग्वालाले फुटाएर शिलालाई भारत लग्न खोज्दा सकेनन् । लिंगबाट रगत आएको देखिएपछि त्यहिँ छाडेर पूजापाठ सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए ।

‘उनीहरुले लिंग नजिकबाट सानो ढुंगा लगेर गोलामा सानो मन्दिर बाएका छन’ जोशीले भने । ‘त्यहाँ बनाइएको मन्दिर पनि बेहडाबाबा नै हो ।’ ग्वालाहरुको गाईको बथानलाई त्यतिबेला ‘बेहडा’ भन्ने गर्दथे । यसै नामबाट पछि मन्दिरको नाम बेहडाबाबा रहन गएको भनाई छ । 

भारतका ग्वालाले बेहडाबाबा पत्ता लगाएका कारण यसप्रति उनीहरुको पनि आगाध आस्ता छ । त्यसैले पनि भारतबाट ठुलो संख्यामा श्रद्धालु बेहडाबाबा मेलामा आउने गरेका छन ।

बेहडाबाबालाई धनगढी उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आएको छ । यसमा भौतिक संरचना थपिने क्रम जारी रहेको छ । जलाशयमा स्थान गरी चोखो मनले बेहडाबाबाको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास भक्तजनको रहँदैआएको छ । गंगा दशहरामा बेहडाबाबा मन्दिर परिसरमा पाँच दिन मेला लाग्ने गर्छ ।