Skip to main content

बैतडीको पाटनका बीरभानको शव फेला, हत्याको आशंकामा शिक्षिका सहित तीनजना प्रक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
शव फेला

बैतडी :  तीन  दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले जानकारी दिए । 

हत्या गरी काँचले बेरेर फालेको अवस्थामा शव फेला परेको उनले बताए । असार १ गते शनिबार उनी सम्पर्कविहीन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको हो । बिष्टको मोबाइल प्रहरी नियन्त्रणमा रहेकी महिलासँग फेला परेको थियो । बिष्ट ट्रक चालक हुन् भने नियन्त्रणमा रहेकी महिला शिक्षिका हुन् । 

वीरभानका आफन्तले भने हत्यामा अरु व्यक्तिहरूको पनि संलग्नता रहेको भन्दै उनीहरुको खोजीको माग गरेका छन् ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।