Skip to main content

अछाममा छाउगोठभीत्र एक किशोरी बलात्कृत, मामा नाता पर्ने नाबालक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
बलाकृत

अछाम : अछाममा छाउगोठमा एकजना किशोरी बलाकृत भएको घटना बाहिर आएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी एक किशोरी छाउगोठमा बलाकृत भएकी हुन् । 

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी थिईन । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले पिडित किशोरीलाई उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएका थिए । 

अनुसन्धान क्रममा र किशोरीलाई सोधपुछको क्रममा उनले आफूसँगै पढ्ने मामा नाता पर्नेबाट बलाकृत भएको बताएकी अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । पाठकका अनुसार आरोपित १७ वर्षका किशोरलाई पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए । 

अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा काउन्सिलिङका क्रममा किशोरीले घटनाबारे सबै बताएकी छिन् । आँखा, घाँटी, हातमा कपडाले बाँधेर बलात्कार गरेको किशोरीले बताएकी छिन् । बलात्कारको घटनामा अन्यको पनि संलग्नता रहेको आशंका गरिएको छ । सोमबार साँझ छिमेकीको घरमा जन्मदिनको नाचगान चलिरहेको बेला घटना घटेको एकजना स्थानीयले बताए । 

किशोरीको उद्धारपछि छाउगोठ भत्काइएको पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेले बताइन् । घटनाबारे फोन मार्फत जानकारी पाएपछि प्रहरी, जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेको बताइन् । घटनास्थलमा पुग्दा किशोरी अचेत अवस्था रहेकी र घटनाबारे कसैले पनि जानकारी दिन नमानेको प्रमुख चलाउनेले बताइन् । 

अछाममा पुनः धमाधम छाउगोठ निमार्ण हुन थालेका छन् । घरै बस्न थालेका किशोरी तथा महिलाहरु फेरि छाउगोठमै फर्कन थालेका छन् । हालसम्म अछाममा छाउगोठमा कति महिला तथा किशोरीका ज्यान गयो र कति यौनजन्य हिसाका शिकार भए भन्ने ततथ्यांक छैन । तर २०६३ साल यता भने अछाममा १४ जना महिला तथा किशोरीहरुले छाउगोठमा ज्यान गुमाएको तंथाक छ । 

२०७६ मंसिर १६ गते जिल्लाको साँफेबगर नगरपालिका–३ की पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको थियो । सोही क्रममा जनप्रतिनिधि, प्रहरी, महिला अधिकारकर्मी लगायतले जिल्लाको १० हजारभन्दा बढी छाउगोठ भत्काएका थिए ।