Skip to main content

यस्तो विचल्लीमा छन प्रशासनभीत्र जेष्ठ नागरिकहरु (१० तस्बिर)

Submitted by editor on
शिवराज भट्ट
बृद्धबृद्धा

धनगढी : बुुधबार विहानको पौने ८ बजेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनको बराण्डामा बृद्धबृद्धाहरुको चहलपहल थियो । सानो बराण्डामा, धेरै (डेढ सय बढी) बृद्धबृद्धा थिए । १५÷२० जना मात्रै बस्नमिल्ने बेञ्च भएको ठाउँमा यती धेरै जेष्ठ नागरिकहरु आएपछि बस्न त कता हो कता, खट्टुा टेक्न ठाउँ थिएन । कतिपय बरान्डाको भुईमा बसिरहेका थिए भने कतिपय रुखको छहारी खोजिरहेका थिए । 

त्यती बीचमा एकजना बृद्ध घोप्टो परेर सुतेका बृद्ध भेटिए । वरिपरि हिडनेहरु भुईमा सुतेका ती बृद्धलाई हेर्दै चुकचुक गर्दै कामतिर लाग्दै थिए । ती बृद्ध कैलालीको चुरे गाउपालीका वडा नम्बर ३ सहजपुरका ८४ वर्षका धनबहादुर महत रहेछन ।

कान पटक्कै नसुन्ने, आँखा पनि कम देख्ने हिडडुलमा अर्काको सहारा चाहिने अवस्थाका उनी, बृद्धभत्ता बुुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीमा आफ्नो र श्रीमतीको राष्ट्रिय परिचयपत्र बनाउन आएका रहेछन । उनले मंगलबार देखि जिल्ला प्रशासन कार्यालय कैलालीको चक्कर काटिरहेका रहेछन ।  

भुईमा सुतिरहेका महतको नजिकै पुुग्दा उनका २५ वर्षका नाती दिनेश महत आए । भने ‘मेरा बाजे हुन, कान पनि सुन्नुहुन्न, आँखा पनि एकदमै कम देख्नुहुन्छ । बस्दाबस्दै ढाड दुख्यो भन्नुुभयो, बस्ने ब्यवस्था नै नभएको ठाउँमा सुत्न के ल्याउने, त्यसैले आफै बराण्डामा घोप्टो पर्नुभयो ।’

धनबहादुर सँगै छेवैमा उनकी श्रीमती कलसी देबि महत पनि थिईन । कलसीको उमेर नागरिकतामा ८५ वर्ष छ अथवा श्रीमानको भन्दा १ वर्ष बढी । उखरमाउलो गर्मी (४३ डिग्री) मा श्रीमान भुईमा पल्टेपछि आफ्नो घोतीको सप्कोले कलसी हावा लगाईरहेकी थिईन । 

‘बुढा भन्दा म एक वर्ष जेठी हुँ, तर बुढा कमजोर भैग्या, म चमचमानी छु, मु बुुढाको सेवा गद्धी छु’ ( बुढा भन्दा म एक वर्ष जेठी हुँ, बुढा कमजोर भैहाल्नुभयो । म ठिकठाक छु । बुढाको सेवा म गर्दै आएकी छु ।) उखरमाउलो गर्मीमा पसिना पुछ्दै कलसीले भनिन । ‘सरकारले यो गर्मीमा सारै दुख दियो । मर्ने बेला अर्को नागरिकता किन चाहियो होला, एउटा त छदै थियो ।’ कलसीलाई राष्ट्रिय परिचयपत्र भनेको अर्को नागरिकता जस्तै हो भनेर कसैले भनेका रहेछन ।

महत जोडीको घरबाट जिल्ला प्रशासन कार्यालय कैलाली, झण्डै ७० किलोमिटर दुरीमा छ । ६० किलोमिटरमा पनि ४० किलोमिटर पहाडको बाटोेपर्छ । नाती दिनेशले मंगलबार नै बाजेबज्यैलाई बसमा राखेर धनगढी पुुगाएको बताए । ‘राष्ट्रिय परिचय पत्र पेश नगरे साउन देखि भत्ता पाईदैन भन्यो, बाजेबज्यैको भत्ता महिनाको ८ हजार आउछ । त्यसले घरखर्च चल्ने गर्छ, नबनाउ भन्दा पनि भएन । त्यसैले यस्तो उमेरमा अशक्त बाजेबज्यैलाई धौधौ गरी धनगढी पुगाए’ नाती दिनेशले भने ।

कैलालीको कैलारी गाउपालिका ३ हसुलीयाकी ८० वर्षिया सुखीया देबी चौधरीका दुुबै खट्टा चल्दैनन । बुढेसकालमा लडेर उनका दुुबै खट्टा भाँचिएका रहेछन । रातोरंगको अटो जिल्ला प्रशासन कार्यालयको परिषरमै आयो । छोरा रामजीवन चौधरीले अटोभीबाट आमा सुखीयादेबीलाई टक्क काखमा बोके, जिल्ला प्रशासनको त्यही बराण्डा, जहाँ थेगी नसक्नु भीड थियो, थचक्क बसाए । 

‘सरकारले ठुलो पाप गरे जस्तो लागिरहेको छ सर । जीवनको उत्तरार्धमा पनि यस्ता बुढाबुढीलाई किन यस्तो दुख दियो होला । भत्ताका लागि भर्खर योग्य भएकाहरु अथवा नयाँ बनाउनेहरुलाई त बरु यो नियम लागुगरेको भए हुने । तर यस्ता अशक्त जेष्ठ नागरिकहरुलाई ४२÷४३ डिग्रीको तापक्रममा यस्तो दुख दिनु सरकारको निरिहपन हो’ सुखीया देबीका छोरा रामजीवनले भने । ‘आमालाई घरमै पनि सौचालय लैजान, बाहिरभीत्र गर्न ह्विलचेयरमा बोक्नुपर्छ ।’

सुखीया आएकै अटोमा सुखराम चौधरी (८१ वर्ष) र फिरिया देबी चौधरी (७८ वर्ष) अर्को बृद्ध जोडी पनि जिल्ला प्रशासन कार्यालय कैलालीमा झ¥यो । उनीहरु रामजीवनकै आफन्त पर्दा रहेछन । आमालाई काखमा बोकेर प्रशासनको बराण्डामा राखिसकेपछि उनले सुखराम र फिरियाको पनि हात समातेर बरान्डातिर ल्याए । भने ‘यो निर्णय गर्नेलाई पक्का पाप लाग्छ सर । मर्ने बेलाका बुढाबुढीको पनि किन राष्ट्रिय परिचयपत्र चाहिएको रहेछ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीमा नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनेहरुको प्रायःबढी भीडभाड हुने गर्छ । त्यसैमा जेष्ठ नागरिकहरुको भीड उर्लिएपछि त्यहाँ मेला लागेझैं  भएको छ । प्रचण्ड गर्मीको मौसम भएकाले पनि जेष्ठ नागरिकहरुलाई सकस भएको छ ।

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०८१ सालको जेठ २४ गतेको मन्त्रीपरिषदको निर्णय भन्दै जेठको ३० गते नेपालका २८ जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरि जेष्ठ नागरिकहरुले असार मसान्तभीत्र परिचय पत्र बनाउन समय  तोकेको छ । विभागले उक्त परिचय पत्र नबनाए सामाजिक सुरक्षा भत्ता रोकिने चेतावनी दिएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पठाएको २८ जिल्लाहरु मध्ये सुदूरपश्चिममा कैलाली र कञ्चनपुर तराईका २ जिल्ला परेका छन ।