Skip to main content

बैतडीको भुवनेश्वरी माविका छात्राहरु काप्न थालेपछि पठनपाठन प्रभावित

Submitted by editor on
प्रधनाध्यापक विरेन्द्र धामी भन्छन, करिब एक दर्जन किशोरीहरुमा यस्तो लक्षण देखिने गरेको छ । यस्तो समस्या १०÷१२ वर्षदेखि नै हो, गर्मीयाममा यस्तो लक्षण बढी देखिने गर्दछ ।
कृष्ण बिष्ट
‘मास हिस्टेरिया’

बैतडी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ ।  विगत लामो समयदेखि किशोरीहरुमा देखिएको यस्तो समस्याले पठनपाठन प्रभावित बन्न पुगेको विद्यालयले जनाएको छ । 

विद्यालय उमेरका केही किशोरीहरु एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिने गरेका छन् । दिनैपिच्छे  किशोरीहरुको समुह एकैसाथ यस्तो लक्षण देखाउदा विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । 

दैनिकजसो हुने यस प्रकारको घटनाले विद्यार्थीहरुको मनोविज्ञानमा असर परेको छ । ‘दिनदिनै किसोरीेहरु काम्ने गरेका छन्, लछारपछार गर्छन, केही लडेर घाइते समेत भए, यस्तो समस्या देखिएपछि पढाइ नै हुदैन, सबै कक्षा प्रभावित हुन्छन्,’ कक्षा १० का छात्र बसन्त धामीले भने । 

विद्यालयमा किशोरीहरु काम्ने समस्या विगत एक दशकदेखि कायमै रहेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्र धामीले जानकारी दिए । करिब एक दर्जन किशोरीहरुमा यस्तो लक्षण देखिने गरेको उनले बताए । ‘यस्तो समस्या १०÷१२ वर्षदेखि नै हो, गर्मीयाममा यस्तो लक्षण बढी देखिने गर्दछ,’ प्रधानाध्यापक धामीले भने । प्रत्येक शैक्षिक सत्रको बैशाखदेखि असोजसम्म नियमित विद्यालयको वातावरण प्रभावित हुने गरेको उनले बताए । 

किशोरीहरु समुहमै एकै पटक काम्ने, रुने, लछारपछार गर्ने र दगुर्ने गरेका कारणले केही किशोरीहरु घाइते समेत हुने गरेको विद्यालयले जनाएको छ । विद्यालय भिरमा रहेकाले ठुलो दुर्घटनाको जोखिम समेत रहेको छ । 

यसलाई स्वास्थ्यका दृष्टिले कन्भर्जन डिसअर्डर भन्ने गरिएको छ ।  कन्भर्जन डिसअर्डर अर्थात मास हिस्टेरिया एक प्रकारको मनोसामाजिक स्वास्थ्य समस्या हो । 

स्वास्थ्यकर्मीहरुका अनुसार मानिसहरूको समुहले कुनै  रोग वा जीवाणुको संक्रमण बिना समान शारीरिक वा मनोबैज्ञानिक लक्षणहरु देखा पर्ने गर्दछन् । 
विद्यालयमा गृहकार्य नगरेको अवस्थामा शिक्षकहरुले पिट्छन की भन्ने डर पैदा हुनु, कुनै काम गर्दा विविध कारणले गर्न नसक्नु, कुनै रोगको अफवाह फैलनु, समाजिक संजालमा बिभिन्न खाले सामाग्रीहरु हेर्नू लगायतका कारणले यस्तो समस्या देखिने गरिएको छ ।

कन्भर्जन डिसअर्डर अथवा मास हिस्टेरियाको महत्वपूर्ण उपचार भनेको मनोपरामर्श हो । जसले तनाबलाई बहन गर्ने क्षमता बढाउन हौसला तथा सहयोग प्रदान गर्दछ । विद्यालय उमेरका बालबालिकामा यस्तो समस्यायाहरु देखिने हुँदा बिद्यार्थीहरुलाइ मनोरञ्जनान्त्मक क्रियाकलापमा सहभागी गराउने, शिक्षक विद्यार्थी मैत्री अध्ययनअध्यापन गराउने र विद्यार्थीहरुलाइ अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । 

स्वास्थ्य कार्यालय मार्फत आवश्यक परामर्शको लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । 

समस्याग्रस्त विद्यालयमा आवश्यक चिकित्सकीय परामर्शको लागि टोली तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । ‘निर्देशनायलसँग समन्वय गरेका छौँ, त्यहाबाट डब्ल्युएचओको टोलीसँग समन्वय हुन्छ, त्यसपछि परामर्श शुरु गर्छाैँ,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले भने ।