Skip to main content

सरकारले बजेट पास नहुने डरले ‘रेडबुक’ सार्वजनिक नगरेको काँग्रेसको आरोप

Submitted by editor on
प्रदेशका योजनाहरू हेरेर स्थानीय तहले बजेट तथा योजना बनाउनु पर्ने, समपूरक तथा विशेष अनुदानका योजनाहरू राख्नु पर्ने हुँदा प्रदेश सरकारले तयार गर्ने रातो किताब नआउँदा ती सबै विषयमा प्रभाव परेको आरोप
ईबिगुल संवाददाता
प्रदेशका योजनाहरू

धनगढी ः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण पछि रातो किताब (रेड बुक) जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ । 

सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता कमल बहादुर शाहले बजेट पास नहुने डरले रातो किताब नआएको भन्दै सरकारको आलोचना गरे ।

‘सरकारले अहिलेसम्म रातो किताब ल्याउन सकेको छैन । नागरिकहरूले अझैसम्म पनि आफ्नो प्रदेशको बजेट कहाँ कति परेको छ भन्ने. जानकारी पाउन सकेका छैनन’ उनले भने । ‘बजेटको आलोचना हुने डरले रातो किताब नआएको हो ।’

प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।  उनले  बजेट सार्वजनिक भएको दुई साता पुग्नै लाग्दा पनि सरकारले रातो किताब सार्वजनिक गर्न नसक्नु विडम्बनापूर्ण कुरा रहेको बताए । 

निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता शाहले प्रदेश सरकारले समयमा बजेटको किताब सार्वजनिक नगर्दा स्थानीय तहको सरकारलाई बजेट बनाउन समस्या भइरहेको बताए । 

प्रदेशका योजनाहरू हेरेर स्थानीय तहले बजेट तथा योजना बनाउनु पर्ने, समपूरक तथा विशेष अनुदानका योजनाहरू राख्नु पर्ने हुँदा प्रदेश सरकारले तयार गर्ने रातो किताब नआउँदा ती सबै विषयमा प्रभाव परेको उनको भनाइ थियो ।

शाहले सरकारले स्रोत विनाका योजना तथा बजेटहरू पनि समावेश गरेको आरोप लगाए । उनले बजेट सिलिङमा चलखेल भएको पनि जिकिर गरे । 
‘स्रोतको सुनिश्चितता नभएरै हचुवाको भरमा बजेट बढाउने काम भएको छ, यहि विषयमा समस्या आएपछि अर्थ सचिवलाई सरुवा गरियो’ उनले भने । ‘सरकारले नै बनाएको विधिको सरकारले नै उल्लंघन गरेको छ ।’

उनले सरकारले भागबन्डा मिलाउन मन्त्रालय विभाजनको तयारी गरेको भन्दै उक्त कामले पनि आलोचना गरेका थिए । शाहले मन्त्रालय विभाजनको कामले प्रदेशमा आर्थिक भार बढ्ने, सुशासनको काम नहुने बताए । 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको प्रमुख सचेतक विक्रम बहादुर धामीले सरकारले सबैलाई भ्रममा राखेको बताए । मुख्यमन्त्री दीर्घ सोडारीले सांसदहरूलाई बजेट दिन्छु भनेर आश्वास दिएको तर, अहिले सांसदका योजनाहरू पनि समावेश नभएको बताए । उनले सरकार गतिहीन र दिशाहीन भएको आरोप लगाए ।