Skip to main content

नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने

Submitted by editor on
रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन् । तर, पछिल्लो समय रञ्जिता आफैं मन्त्री बन्ने घोषणा गरेपछि अरुण बिच्किएको नाउपाभित्र चर्चा रहेको छ ।
अरुण चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ । आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो ।

मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतको भनाइ छ । यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारुढ दलसँग छलफल अगाडि बढाइरहेका छन् । साना दललाई समेट्न एमाले र माओवादी केन्द्रले मन्त्रि फिर्ता बोलाउने तयारी गरेका छन् ।

रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन् । तर, पछिल्लो समय रञ्जिता आफैं मन्त्री बन्ने घोषणा गरेपछि अरुण बिच्किएको नाउपाभित्र चर्चा रहेको छ । उनले यस विषयमा रञ्जजितासँग जवाफ मागेपछि चित्तबुझ्दो जवाफ नआएको अरुण निकट एक नेताले जानकारी दिए । 

यससँगै केन्द्रमा अब रेशम चौधरी पक्षमा ३ सांसद भएका छन् । बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन् । पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन् ।

आइतबारको बैठकले दलको नेताबाट रञ्जितालाई हटाएर गंगा चौधरी चयन गरेको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका रेशमका बुबा लालवीर चौधरीलाई राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा रञ्जिताको हस्ताक्षर भने छैन ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए  ।