Skip to main content

प्रचण्ड सरकारबाट नाउपाको समर्थन फिर्ता, नयाँ गठबन्धनमा सहभागी हुने

Submitted by editor on
ईबिगुल संवाददाता
समर्थन फिर्ता लिने निर्णय

धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गंगा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए ।

‘हामीले समर्थन फिर्ता लिने निर्णय गरेका छौँ, समर्थन फिर्ता लिएपछि विश्वासको मत दिने त कुरै भएन’ प्रमुख सचेतक चौधरीले भने । यसअघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आजको बैठकमा श्रेष्ठ बाहेकका गंगा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् । नाउपाले पनि समर्थन फिर्ता लिएसँगै उनको साथमा रहने दलहरूको संख्या थप साँघुरो हुँदै गएको छ । संघीय संसदमा नाउपाका चार सांसद छन् ।