Skip to main content

मन्त्री छान्न काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि सभापति शेरबहादुर देउवाले बोलाएका हुन् ।  
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी पेस गरेका छन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

शनिबार या आइतबार ओली नयाँ प्रधानमन्त्री बन्ने भएकाले नयाँ सरकार गठन, पार्टीको तर्फबाट मन्त्री छनोट र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ ।

मन्त्रालय भागबन्डामा दुई दलबीच विवाद देखिँदैन । कांग्रेसका अर्का एक नेताका अनुसार गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ । अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन ।