Skip to main content

सोडारी नेतृत्वको सरकारको असक्षमता– सुदूरपश्चिम प्रदेशमा आजदेखि बजेट शून्यता

Submitted by editor on
शिवराज भट्ट
बजेट सुन्यताको अवस्था

धनगढी : केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट सुन्यताको अवस्था आएको छ । असार मसान्तको राती १२ बजेसम्म बजेट पास हुनुपर्ने संबैधानीक प्रावधान छ । 

सोमबार राती १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट सुन्यताको अवस्था आएको हो । तत्कालिन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्र बहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए । तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन ।

असार १ गते आएको बजेटमा असारको २० गतेसम्म छलफल समेत भएन । सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन । 

एमालेले समर्थन फिर्ता लिएपछि, उसले आफैले ल्याएको बजेट पास नहुने भएको हो । अहिले एमाले बजेट पास हुन नदिने पक्षमा छ । सुदूरपश्चिममा जेठको २८ गते मात्रै मन्त्रीमण्डल विस्तार भएको थियो । असार २८ गते आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्र बहादुर पालले त्यसको तीन दिन पछि बजेट प्रस्तुत गरेका थिए । उनले बजेट आफुले पढेपनि बनाउन नपाएको प्रतिक्रिया दिएका थिए ।

संघमा रातारात सत्ता गठबन्धन फेरिएला भन्ने भेउ (जानकारी) नपाएपछि तत्कालिन गठबन्धन (एमाले, माओवादी, समाजवादी र नाउपा) ले असारको मध्यसम्म पनि बजेटमाथि छलफल गर्न उचीत ठानेनन । बजेट प्रति काँग्रेसको विरोध भईरहेकाले तत्कालिन गठबन्धनले असारको अन्तिम २÷३ दिनमा बजेट माथि छलफल गराउने र पास गर्ने सोच बनाएको थियो ।

‘सत्ता गठबन्धनमा यस्तो फेरबदल होला भन्ने कल्पना समेत थिएन, काँग्रेसको विरोध आईरहेकाले धेरै दिन सदनमा लफडा गर्नुभन्दा असारको अन्तमा छलफल गरेर पास गर्ने सोच थियो, तर रातारात सत्ता गठबन्धन फेरियो’ नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका मन्त्री अक्कल बहादुर रावलले भने ।

अहिले समाजवादी र माओवादीलाई असारको १ गते आएको बजेट माथि तत्काल छलफल सुरु नगरेकोमा पछुतो भईरहेको छ । काँग्रेस झुक्याउन बजेट माथिको छलफल नचलाएको सोडारी नेतृत्वको सरकार अहिले भने बजेट पास नहुने भएपछि तनावमा छ । 

सोमबार राती १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट विहिनताको अवस्था आउनेछ । साउन १ गते देखि प्रदेश सरकारले न खर्च गर्न पाउछ, न कर संकलन गर्न नै । ‘बजेट भ्याकुमको अवस्था आयो, मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तुरुन्त राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो सहज पार्नुपर्छ’ नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने ।

उनले, बजेट विहीनताको अवस्था आउनु भन्दा प्रदेशको आर्थिक गतिविधि अघि बढाउन बर्तमान मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भने सकेसम्म अध्यादेशबाट बजेट ल्याउने, नसके पेश्की बजेट ल्याएर काम चलाउने र अल्पमतमा परेको अन्तिम दिनसम्म मुख्यमन्त्री रहिरहने दाउँमा देखिएका छन ।

‘प्रदेश प्रमुखले सदन अन्त्य गरि दिएमा हामी अध्यादेशबाट बजेट ल्याउने तयारीमा छौं, तर त्यसो भएन भने एक÷दुई दिनमा पेश्की बजेट आउन सक्छ’ आर्थिक मामिलामन्त्री अक्कल बहादुर रावलले भने । ‘मुख्यमन्त्री ज्यु राजीनामा दिनुहुन्न, हामी विश्वासको मतको ‘फेस’ गर्न पनि सक्छौं, अथवा राजीनामा दिएपनि अन्तिम दिन मात्रै दिन्छौं’ उनले भने ।

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले आईतबार प्रदेश प्रमुख नजीर मियालाई संसदको चालु (बजेट अधिवेशन) अधिवेशन अन्त्यका लागि पत्राचार गरेका छन । तर मुख्यमन्त्रीको पत्र आउनुअघि नै प्रदेश प्रमुख मीया प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण कार्यक्रममा सहभागि हुन आईतबार विहानै संघीय राजधानी गईसकेका थिए ।

प्रदेश प्रमुखको सचिवालयले भने प्रदेश प्रमुख संघीय राजधानी गएपछि मात्रै पत्र प्राप्त भएको प्रतिक्रिया दिएको छ । ‘४ बजेर ४८ मिनेटमा पत्र प्राप्त भयो, प्रदेश प्रमुख त्यस अघि नै संघीय राजधानी गईसक्नु भएको थियो, बाहिर भएकाले उहाँले कस्तो निर्देशन गर्नुहुन्छ, त्यसैमा भर पर्ने कुरा भयो । हामीलाई पत्र दर्ता गरेर राख्नु भन्ने मात्र निर्देशन छ’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश कुमार ढुंगानाले भने ।