Skip to main content

बाढीले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभीत्र पनि क्षती (तस्वीरहरु)

Submitted by editor on
चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर ४ वटा लघुना र १ चित्तल मरेको अवस्थामा भेटिएका छन ।
महादेव अवस्थी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

महेन्द्रनगर : असारमा आएको अविरल वर्षा पछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठुलो क्षति गरेको छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन भने भौतिक संरचनामा समेत क्षति गरेको निकुञ्ज कार्यालयले जनाएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर ४ वटा लघुना र १ चित्तल मरेको अवस्थामा भेटिएको जानकारी दिए । 

‘चौधर नदीको बाढी निकुञ्जभीत्र पस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन’ उनले भने । ‘केहि वन्यजन्तु मरेका अवस्थामा फेला परेका छन । उनका अनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एक दर्जन बढी काठे पुल र पक्की पुल बगाएको छ । ‘पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ, जसका कारण अनुगमन तथा गस्ती गर्न समेत समस्या भईरहेको’ उनले भने ।

यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन । ‘विगतमा महाकाली नदी निकुञ्ज पस्ने र कटान हुने गथ्र्यो, यसपटक महाकालीको बाढी निकुञ्जभित्र आउन पाएन’ ऐरले भने । ‘जसले गर्दा शुक्लाफाँटाको बाह्रसिंगाको बासस्थानमा क्षति हुन पाएन ।’

बाढीले पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो अवरुद्ध भएको छ । त्यसैगरि बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा समेत क्षति पु¥याएको संरक्षण अधिकृत ऐरले बताए । ‘कृष्णसार संरक्षित क्षेत्रमा पनि तारबार भत्काएको छ, निकुञ्ज कार्यालयमा समेत बाढीले क्षति गरेको छ’ उनले भने । निकुञ्ज कार्यालय र निवास समेत डुबानमा परेपछि कार्यालयका फाइलहरुमा समेत क्षति भएको छ ।

तस्वीरहरु सौजन्य ः मनोज ऐर संरक्षण अधिकृत, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज