Skip to main content

बझाङ अस्पतालमा जब नभाँचिएको हातमा प्लाष्टर गरियो...

Submitted by editor on
ईबिगुल संवाददाता
भाँचिएको हातमा नभएर अर्कै हातमा प्लाष्टर

बझाङ : बझाङ जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले भाँचिएको हातमा नभएर अर्कै हातमा प्लाष्टर गरिदिएको घटना भाईरल भईरहेको छ । प्लाष्टर गर्ने कोठामा लगेर नभाचिएको हातमा प्लाष्टर  गरिपछि घटना भाईरल भएको हो । 

यस्तो थियो घटना 
बझाङको दुर्गाथली गाउपालिका –७ का ७ वर्षिय सुनील दौल्यालको घरको आइतबार साँझ घरको ढोकानजिकै खेल्नेक्रममा हात भाचियो । उनलाई दाई, आदेश दौल्यालले सोमबार दिउँसो तीन बजेतिर जिल्ला अस्पताल पुगाए । अस्पताल पुर्याइएका सनीलको एक्सरे गरेपछि बाँया हातको कुहीना नजिक भाच्चिएको देखियो ।

चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए । केही बेरमा आएका नर्सहरूले हातमा पलास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर पर्खिरहेका थिए । 

पलास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए । आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगेपछि हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा पलास्टर गरिएको रहेछ,’ आदेशले भने, ‘मैले भिडियो बनाउदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरेछन् ।

तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको प्लास्टर फालेर फेरि अर्को हातमा लगाइदिए । ‘गल्तीले अर्को हातमा पलास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए ।

मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई घर पठाईसकेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए । 

प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए । ‘प्रायः यस्तो केस मैले आफैले हेर्ने गर्थें । त्यो दिन खुट्टा भााच्चिएको अर्को गम्भीर बिरामी आएकोले म इमरजेन्सीमा जान्छु । बच्चाको हातमा सपोर्ट लगाइदिनु भनेर तल झरे । तर उनीहरूले अर्कै हातमा सपोर्ट लगाइदिएछन्,’ डाक्टर खडकाले भने ।

जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीबाट कमजोरी भएको स्वीकार गरे । ‘कसरी यस्तो लापर्बाही भएको रहेछ, यस बारेमा थप बुझ्दैछौँ ।’