Skip to main content

काँग्रेस भन्छ, ‘मुख्यमन्त्री सोडारीले सदन र प्रदेश प्रमुखको अपमान गरे’

Submitted by editor on
ईबिगुल संवाददाता
दीर्घबहादुर सोडारी

धनगढी : नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान गरेको आरोप लगाएको छ । 

काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मंगलबार विज्ञप्ती जारी गर्दै संसदको विषेश अधिवेशनमा सरकार प्रमुख भएर मुख्यमन्त्री सोडारीको अनुपस्थित हुनु गैरसवैधानिक, गैरजिम्वार, सत्तालिप्सा र प्रदेश प्रमुखको समेत अपमान भएको बताएका छन ।

‘बजेट वर्षे अधिवेशन चालू रहँदारहँदै बजेटमाथिको छलफल र वैधानिक विकल्पहरुको खोजी समेत नगरी काम चलाउ सरकारले प्रदेश बजेट शून्यताको अवस्था पुगाएको प्रति नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ । 

काँग्रेसले प्रदेशमा बजेट शून्यताका कारण सिंगो अर्थतन्त्रमाथि नै गम्भीर असर परिरहेको ठहर गरेको छ । ‘प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायहरुले राजश्व संकलन गर्ने र खर्च गर्ने कार्यमा समेत अवरोध भई प्रदेशको समग्र आर्थिक प्रणाली नै तहसनहस हुने अवस्था वर्तमान सरकारले गरेको छ’ विज्ञप्तीमा अगाडि भनिएको छ ।

काग्रेसले प्रदेशमा परेको अबिरल बर्षाका कारण आएको बाढी, पहिरो, चट्याङ, डुवान र नदि कटानले गर्दा ठुलो जनधनको क्षति भएको प्रती गहिरो दुख ब्यक्त गरेको छ । 

काँग्रेसले अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीलाई पदबाट  राजीनामा दिएर मार्गप्रशस्त गर्न माग पनि गरेको छ ।
सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका थिए । 

दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाबाहेक मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित रहेका थिए ।