धनगढी : आईतबार अपरान्ह देखि लगातार परेको वर्षाले धनगढी उपमहानगरपालिका डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदी आसपासका गाउँहरु डुबानमा परेका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका भएर पूर्वतिर बग्ने मोहना नदीसँग जाडिएका उपमहानगरका वडा नम्बर १, २, ३, ८ र १३ नम्बर वडाका करिब १५० घरहरु डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन ।
उपमहानगरपालिकाका अधिकांस बस्तीमा पानी पसेको छ । ५ परिवारको घरभीत्र पानी पसेकाले अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालीकाका नगर प्रहरी सोमबार विहानै देखि नगरको पानी निकासमा खटिएका मेयर गोपाल हमालका स्वकीय सचिव सुरेन्द्र भट्टले जानकारी दिए ।
उनले नालीहरु खोल्ने काम भईरहेको र पानी जमेको स्थानको निकासमा उपमहानगरको टोली खटिरहेको जानकारी दिए । धनगढीको मुख्य बजार क्षेत्रका केही भागहरु, शिवनगर क्षेत्र बढी डुबानमा परेका छन ।कैलालीको धनगढी र गोदावरी नगरपालिकामा मात्रै बढी वर्षा भईरहेको छ ।
पछिल्लो २४ घण्टामा कैलालीमा २१३ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान विभागको अत्तरिया कार्यालयले जनाएको छ । पहाडि जिल्लातिर वर्षा कम भएकाले हरेक वर्ष डुबान हुने कैलालीको पूर्वी क्षेत्रमा भने खासै असर नपरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
अहिले वर्षा कम भएको र मोहनाको सतह पनि घटिरहेकाले ठुलो विपत भने नआउने अनुमान गरिएको जिल्ला प्रशासन कार्यादलयका सूचन अधिकारी शिवराज जोशीले बताए । उनले डुबानको सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षाकर्मी, उद्धारकर्मी र उद्धार सामाग्री तयारी हालतमा राखिएको बताए ।