Skip to main content

कैलालीको चिसापानी क्षेत्रबाट एकजनाको अपहरण, स्थिति अज्ञात

Submitted by editor on
ईबिगुल संवाददाता
 चिसापानीबाट

धनगढी : कैलालीको चिसापानीबाट एकजनाको अपहरण भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो ।

लम्की–चिसापानी क्षेत्रका युवाहरूले दाउरा बोकेको गाडीका सह–चालकको अपहरण गरेका उनका परिवारको आरोप छ । सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो । सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार÷पाँच जना युवाको समूहले आफूसँगै लगेका परिवारिक स्रोतले बताएको छ । अनुराजको टाउकोमा चोट छ ।

चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा घटनाको आरोप लगाएका छन् । नारायण शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

चौधरीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता गंगादत्त बडूले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए । चिपासानी प्रहरी र सशस्त्र बेस क्याम्प डुडेझारीको टोलीले उनीहरूको खोजी गर्दैछ ।