Skip to main content

धनगढी उपमहानगरले छिमेकी पालिकाका लागि थप्यो दुईवटा शव चिस्यान

Submitted by editor on
ईबिगुल संवाददाता
शव चिस्यान

धनगढी : शव चिस्यानको माग छिमेकी पालिकाहरुबाट पनि आउन थालेपछि धनगढी उपमहानगरले थप २ वटा शव चिस्यान थपेको छ । यसअघि नगर क्षेत्रभीत्रमात्र प्रयोग हुनेगरी ३ थान सव चिस्यान खरिद गरिएका थिए । 

धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालले केहीदिन अघि भीमदत्त नगरपालिकाबाट एकै पटक २ वटा शव चिस्यान माग भएर आएको बताए । ‘२ जना छोरा अमेरिकामा रहेछन । बुवाको मृत्युभएछ । बुवाको अन्तिम अनुहार हेर्नका लागि ३÷४ दिनसम्म शव राख्नुपर्ने भयो भनेर फोन आयो । अब उपमहानगर बाहिर नदिने पनि कसरी ?’ मेयर हमालले भने । ‘२ वटा हामीले बाहिरको पालिकामा पठायौं, त्यतीबेला धनगढीमै अभाव महसुस भयो ।’ 

उनले अहिले खरिद गरिएका २ वटा शव चिस्यान उपमहानरसँग सीमाना जोडिएका पालिकाहरुलाई सहज होस भनेर किनेको बताए । ‘अहिले युवाहरु बिदेशमा जाने क्रम बढेको छ । घरमा आफन्तको मृत्यु हुन्छ । एप्ता, १० दिनसम्म पनि शव राख्नुपर्ने अवस्था आईरहेको छ । त्यसका लागि शव चिस्यान आवश्यक भईसक्यो’ हमालले भने ।

 बिजलीबाट चल्ने उक्त शव चिस्यानमा २÷३ हप्तासम्म पनि शव राख्न सकिन्छ । छोराछोरी बाहिर देश भएका र बुवा आमाको नेपालमा मृत्युभएकाहरुले यसको बढी प्रयोग गर्ने गरेका छन । 

उपमेयर कन्दकला राना भन्छिन, ‘उपमहानगरसँग शव चिस्यान छ, बाहिरबाट माग आउछ, मानवको भावनासँग जोडिएको बस्तुभएकाले दिन्न भन्न पनि पाइएन, उपमहानगर भएकाले अरु पालिकाको पनि यसप्रति आशा हुन्छ ।’