Skip to main content

उद्योगमन्त्री भण्डारी भन्छन ‘परिणाम दिन नसक्नेलाई जिम्मेवारीमा बस्ने हक छैन’

Submitted by editor on
ईबिगुल संवाददाता
दामोदर भण्डारी

काठमाडौँ :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन ।

सोमबार कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए । सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उहाँले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए ।

‘खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ’ मन्त्री भण्डारीले प्रश्न गरे । ‘कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन ? किन कार्य क्षेत्र विस्तार गर्न सकिएन ?’ उनले भने ।

देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पूँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औँल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीले व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै संस्था समृद्ध हुने भएकाले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।