Skip to main content

कुलमान घिसिङको दाबी, ‘लोडसेडिङ हुँदा खुसीहुनेले मेरो विरोध गरे’

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
कुलमान घिसिङ

धनगढी : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमात धेरै रहेको बताए । उनले प्राधिकरण घाटामा गएका बेला र लोडसेडिङ हुँदा खुसी हुने जमातले पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको दाबी गरे । 

उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए । उनले महालेखा परीक्षकका तीनवटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने दाबी पनि गरे । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । 

उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत् महसुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद भएको उल्लेख गरे । 

उनले २५ अर्बको विद्युत् महसुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । उनले विद्युत् महसुल बढाएर नभई घटाएर नाफामा गएको पनि बताए । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्नासमेत नगरेको बताए । 

उनले यो वर्ष २५ अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत् आयातभन्दा विद्युत् निर्यात बढी गरेको बताए ।