धनगढी : धनगढी विमानस्थलमा पार्किङ शुल्कमा भारी वृद्धि भएपछि यातायात क्षेत्रका मजदूरहरु आक्रोशित भएका छन । धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेपछि सो शुल्क घटाउनु पर्ने मागगर्दै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिमले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।
यस्तै नेपाली कांग्रेस र नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दल र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई पनि ज्ञापन पत्र बुझाएका छन् । भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले चार गुणा बढी पार्किङ शुल्क सार्वजनिक गरेको छ ।
जसअनुसार मोटरसाइकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपियाँ र प्रतिदिन १२० रूपियाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपियाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रुपियाँ, बस र ट्रकको प्रतिघण्टा ९० र दिनको ५४० रूपियाँ निर्धारण गरिएको छ ।
विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० देखि २० रूपियाँसम्म संकलन गरिँदै आएकोमा एक्कासी वृद्वि गरिएपछि नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम लगायतका संगठनले विरोध गरेका हुन् ।
सङ्गठनका प्रदेश अध्यक्ष ललित चन्दले आफूहरुले सरोकारवाला पक्षलाई भेटेर विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । उनले १५ दिनभित्र माग सम्बोधन नभए विमानस्थलभित्र पार्किङ गर्न बाध्य नहुने बताए ।
उनले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत समेत पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको बताए । कुलेमष्ट कन्स्ट्रक्सनका मनिष कुँवरले देशभरका विमानस्थलमा नयाँ पार्किङ शुल्क तय गरेर पार्किङ शुल्क बढाइएको बताउँदै सो विषयमा संघीय सरकारले निर्णय परिवर्तन गर्न सक्ने तर आफूहरुले नसक्ने बताए ।