Skip to main content

सुदूरपश्चिममा फेरि खटपट, दीर्घ सोडारीको विकल्प खोज्न एमालेको अडान

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिममा फेरि खटपट, दीर्घ सोडारीको विकल्प खोज्न एमालेको अडान

धनगढी : सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको काँग्रेस, उन्मुक्ति, समाजवादी गठबन्धन भत्किएपनि, फेरि एमालेले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीको बिकल्प खोज्न अडान लिएको छ ।

एमालेको सोडारीको विकल्प खोज्ने अडानले आजै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी अहिलेसम्म रोकिएको छ । ‘सोडारी विवादास्पद ब्यक्ति हुन । उनको विरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्धा छ । अख्तियारले मुद्धाको तयारी गरेको छ । मन्त्री भएका बेला पनि उनी विवादमा आएका थिए, त्यसैले गठन भएको सरकार अस्थिर नहोस भनेर यस्तो सुझाव दिईएको हो’ नेकपा एमाले स्रोतले भन्यो ।

एमालेले सोडारी बाहेक जुनसुकै प्रदेश सभा सदस्य भएपनि मुख्यमन्त्रीमा सहमति जनाउने बताएको छ । माओवादी, एमालेका संसदीय दलका नेताहरु यसबारेमा विहानै देखि छलफलमा छन । उनीहरुले समाजवादीका प्रकाश रावल र माया पन्त जो भएपनि मुख्यमन्त्रीमा पठाउन आग्रह गरेका छन । 

मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । मंगलबार राती नै एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरिसकेको छ ।

तर एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि अन्यौलता देखिएको छ । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरु विभिन्न तह र तवरले छलफल गरिरहेको बताईएको छ ।

समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश प्रमुख नजीर मियाले नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजे सम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक सरकार आह्वान गरेका छन ।