Skip to main content

एमालेको अडान निष्कृय, समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा पठाउने

Submitted by editor on
ईबिगुल संवाददाता
एमालेको अडान निस्कृय, समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा पठाउने

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको विकल्प दिन भन्दै एमालेले लिएको अडान निस्कृय भएको छ । समाजवादीको केन्द्रिय सचिवालयको बैठकले उनलाई नै मुख्यमन्त्रीमा पठाउने निर्णय गरेको हो । 

एमालेको सोडारीको विकल्प दिनुपर्ने अडान राखेपछि आजै समाजवादीले पेश गर्ने भनिएको मुख्यमन्त्रीको दाबीको कार्य रोकिएको थियो । सोडारी विवादास्पद ब्यक्ति भएकाले प्रदेश सरकार अस्थिर नहोस भन्दै एमालेका नेताहरुले उनको विकल्प मागेको थियो ।
नेकपा माओवादी केन्द्रले भने आज विहानै समाजवादीका दीर्घ सोडारीलाई समर्थन रहेको पत्र पठाई सकेको छ । 

मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा समाजवादीले मुख्यमन्त्री दाबी गर्ने सहमति भएको थियो ।

समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश प्रमुख नजीर मियाले नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजे सम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक सरकार आह्वान गरेका छन ।