Skip to main content

धनगढीमा अपांगता भएका ब्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण

Submitted by editor on
ईबिगुल संवाददाता
अपांगता भएका ब्यक्ति

धनगढी : धनगढी उपमहानगरपालिकाले गतवर्ष झै यो वर्ष पनि अपांगता भएका ब्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको छ । उपमहानगरले यो वर्ष २१६ जना अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो । यो वर्ष २१ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको अपांगता सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले स्क्रिनिङ गर्न र सामग्री वितरण गर्न सर्वाङ्गिण अपांगता विकास समाज धनगढीसँग प्रविधिक सहकार्य गरेको हो । गत वर्षसमेत अपांगता भएका व्यक्तिलाई खोजीखोजी सहायक सामग्री वितरण गरिएको थियो । 

गत वर्ष १८९ जनालाई २०५ वटा सहायक सामग्री वितरण गरिएको थियो । १०५ जना पुरुष र ८४ जना महिलालाई गत वर्ष अपांगता सहायक सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

उपमहानगरपालिका क्षेत्रलाई पाँच क्लस्टरमा विभाजन गरेर स्क्रिनिङ शिविर चालाए झै पाँच वटै क्लस्टरमा पुगेर सहायक सामग्री वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन् । उनले अपांगता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्न उपमहानगरपालिकाले हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको बताइन् ।

धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्ने कामलाई अभियानकै रुपमा लिएको छ । जसअनुरुप धनगढी क्लस्टर अन्तर्गत पर्ने वडा नम्बर १,२,३,४,५,७ र ८ मा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरूलाई शुक्रवार नगरपालिका परिसरमा सहायक सामग्री वितरण गरिएको हो । नगरपालिका परिसरमा  ५५ जनालाई सहायक सामग्री वितरण गरिएको हो ।

यस्तै, बेला क्लष्टरमा पर्ने वडा नम्बर  ६, ११ र १३ मा बसोबास गर्ने लाभग्राहीहरूलाई घोड्सुवा स्वास्थ्य चौकीमा सहायक सामग्री वितरण गरिएको थियो । बेला क्लस्टर अन्तर्गतको घोड्सुवा स्वास्थ्य चौकीमा २५ जनालाई र बेलामै ८० जनालाई सहायक सामग्री वितरण गरिएको हो ।

यो वर्ष उपमहानगरपालिकाले ह्विल चेयर ७५ थान, ट्राइ साइकल ३२ थान, हेयरिङ एड ३३ थान, एल्बो क्रचेज १२ थान, वाकिङ स्टिक ३४ थान, वाकर ३ थान, कमोड चेयर १ थान, सहायक क्रचेज २४ थान तथा ट्रान्सफोमल प्रोथेसिस २ थान वितरण गरिएको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले यो वर्ष निःशुल्क सहायक सामग्री वितरण गरेका २१६ जना मध्ये धनगढी क्लस्टरमा ५६ जनालाई सहायक सामग्री वितरण गरेको छ भने फूलबारी क्लस्टरमा ५२ जना, बेला क्लस्टरमा २९ जना, उर्मा क्लस्टरमा ४९ र जुगेडा क्लस्टरमा ३० जना अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको हो ।

उपमहानगरपालिकाले हरेक वर्ष अपांगता भएका व्यक्तिलाई खोजीखोजी निःशुल्क सहायक सामग्री दिने नीति लिएको छ ।