Skip to main content

दलित समुदायबाट पहिलो आचार्य कृष्ण दमाईलाई धनगढी उप–महानगरको सम्मान

Submitted by editor on
कृष्णको संस्कृतको आचार्य उपाधी, आफुले सुरुवात गरेको सुन्दर सुदूरपश्चिम अभियानको एक कडिका रुपमा लिएको मेयर गोपाल हमालले बताए ।
शिवराज भट्ट
कृष्ण बहादुर दमाई

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले पुरुस्कृत र सम्मानित गरेको छ । 

उपमहानगरपालिकाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले उनलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरे भने उनलाई कदरपत्र दिएर सम्मानित गरे । 

सम्मान कार्यक्रममा बोल्दै हमालले सुदूरपश्चिममा दलित परिवारबाट संस्कृतमा आचार्य गरेर सनातन हिन्दु धर्मको पक्षमा लागेको भन्दै दमाईको प्रसंसा गरे । ‘सुदूरपश्चिममा अभावै अभाव छ, कुरितीहरु मात्रै छ, यो प्रदेश छाउपडि र देउकी प्रथाको प्रदेशको हो भन्ने मानसिकता परिवर्तन भईरहेको महसुस भएको छ’ मेयर हमालले  भने ।

कृष्णको संस्कृतको आचार्य उपाधी, आफुले सुरुवात गरेको सुन्दर सुदूरपश्चिम अभियानको एक कडिका रुपमा लिएको मेयर हमालले बताए । ‘सुदूरपश्चिम सुन्दर छ भन्ने अभियानको यो एक सफलता हो । मैले त्यसरी बुझेको छ’ उनले भने ।

मेयर हमालले आचार्य कृष्णले धनगढी उपमहानगरभीत्र पछाडि पारिएका सनातनीहरुलाई शास्त्रीय ज्ञान दिन ईच्छुक भए उनलाई जागिर दिन पनि धनगढी नगरकार्यपालिका तयार रहेको बताए । आचार्य कृष्णलाई बाजागाजासहित नगर सभा हलमा लगिएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।

सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए । उनले धनगढी उपमहानगरपालिकाले स्थानीय तहहरुमा सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए ।