Skip to main content

प्रदेश प्रमुखको गौरा सन्देश, ‘राष्ट्रिय एकता र सामाजिक सद्भाव बढोस’

Submitted by editor on
ईबिगुल संवाददाता
गौरा पर्वको अवसरमा शुभकामना

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक पर्व गौराले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने विश्वास व्यक्त गरेका छन् । 

गौरा पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले गौरा पर्वले नयाँ उमंग र हौसला बढाउने समेत बताए । ‘यस पर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावनासहित नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ परापूर्वका कालदेखि मनाउँदै आइरहेको सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको गौरा पर्वको संरक्षण र संवर्धनमा लाग्नुपर्ने प्रदेश प्रमुख मियाँले बताएका छन् । उनले शुभकामना सन्देशमा गौरा पर्वले एक आपसमा प्रेम, सद्भाव र आत्मीयता बढाउनेमा समेत विश्वास व्यक्त गरेका छन् । 

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा हिजो देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा भब्य रुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुन्छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ । 

बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरिन्छ । गाउँका पुरुष र महिलाहरूले पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन् ।