Skip to main content

प्रधानमन्त्री ओलीले भने, ‘सुदूरपश्चिम नेपालको सभ्यता र संस्कृतिको केन्द्र हो’

Submitted by editor on
ईबिगुल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा लाग्न आह्वान गरेका छन । गौरा पर्वको अवसरमा सोमबार प्रशंसा संरक्षण समूहले काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको भावना लिएर समृद्ध राष्ट्र निर्माणमा जुट्न आह्वन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘शान्तिपूर्ण सुखमय समृद्धि नेपाल बनाउने काममा योगदान गर्न राष्ट्रिय एकताको भावना अगाडि बढाउन सबै नेपाली एकतावद्ध भएर अगाडि बढौं ।’

प्रधानमन्त्री ओलीले मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए। उनले संस्कृतिको जगेर्ना गर्न सकिए मात्रै भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको मौलिक पर्व गौरा मानव सभ्यतासँग जोडिएको भन्दै यसलाई विश्वव्यापीरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए । ‘मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ । यस पर्वलाई विश्वव्यापीरुपमा फैलाउनुपर्छ । यसका जराहरू इतिहाससँग जोडिएका छन् । ’

सुदूरपश्चिम नेपालको सभ्यता र संस्कृतिको केन्द्र भएको बताउँदै प्रधानमन्त्री ओलीले यसको आफ्नै गौरवपूर्ण इतिहास रहेको बताए । उनले भने, ‘सहिद दशरथ चन्दको जन्मभूमि र कर्मभूमि भएको ठाउँ हो । उहाँहरूका बाजेहरूका पालादेखि संघर्षको इतिहास छ । यसैगरी भीमदत्त पन्तको भूमि हो । यो भूमि सभ्यता र संस्कृतिको हिसाबले अत्यन्त सम्पन्न छ । यसको सम्पन्नतालाई एकताबद्ध भएर अगाडि बढाऔं ।’