Skip to main content

एमविविएस प्रवेश परिक्षा पास गरेका विद्यार्थीको प्रश्न, ‘गेटामा पढाई कहिलेदेखि हुन्छ ?’

Submitted by editor on
कैलालीको गेटामा ६ सय शैया क्षमताको अस्पताल भवन, ३ सय विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास गरी ५६ वटा गगनचुम्बी भवनहरु, विद्युत, खानेपानी, सडक, फोहरमैला ब्यवस्थापन गरी सरकारको झण्डै ७ अर्व लगानी भईसकेको छ ।
शिवराज भट्ट
 नर्सरीमा भर्ना भए

धनगढी : सुदूरपश्चिममा गेटा मेडिकल कलेज निर्माणको सुरुवात भएका वर्ष, नर्सरीमा भर्ना भएकी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की अपेक्षा ओझाले यसपाली एमविविएसको प्रवेश परिक्षा पास गरिन । धनगढीको ऐश्वर्य विद्या निकेतनबाट एसईई पास गरेर काठमाण्डौंबाट आईएस्सी सक्काएकी ओझाले यसैपाली भदौ १ गते चिकित्सक सेवा आयोगले लिएको एमविविएसको प्रवेश परिक्षा पास गरेकी छिन ।

‘म नर्सरीमा थिए, गेटामा मेकिकल कलेज बन्ने कुरा चलिरहल्थ्यो, आईएस्सी पनि सक्काए, एमविविएसको प्रवेश परिक्षामा पनि पास भए तर गेटामा पढाई सुरु भएन, सरकार यस्तो किन ?’ उनले प्रश्न गरिन । उनले यस क्षेत्रबाट प्रधानमन्त्री भईसकेका ब्यक्तिहरुलाई सुदूरपश्चिमको विकास बारे सोच्न सुझाव दिईन ।

‘प्रधानमन्त्री, सबैभन्दा बढी पटक भएका नेताहरु हाम्रै प्रदेशका छन । मन्त्रीहरु पनि छन, किन कसैले गेटाका बारेमा आवाज उठाउदैनन ? किन गेटामा पढाई सुरु हुदैन ?’ ओझाको प्रश्न थियो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की प्रियंका भट्टले पनि यसपाली एमविविएसको प्रवेश परिक्षा उत्तीर्ण गरेकी छिन । ‘म नर्सरीमा भर्ना भएका बेला नै गेटा मेडिकल कलेजको चर्चा हुन्थ्यो । हाम्रो पुस्ताले गेटामा एमविविएस, एमडी गर्न पाउछ भन्ने आशा थियो तर एक पुस्ताको माध्यमिक शिक्षा सकिदा पनि गेटा बनेने, किन ?’ उनले पनि त्यही प्रश्न गरिन । 

हुन पनि हो, उनीहरु नर्सरीमा भएका बेला अथवा २०६५ साल देखि नै गेटामा मेडिकल कलेज बनाउने चर्चा सुरु भएको हो । सहिद संघारी सामुदायीयक बनको जग्गाका रुखहरु काटनै मै ढिलाई भएका बेला, स्थानीयले रातारात ती रुखहरु काटि दिएपछि त्यहाँ भवनहरु निर्माण सुरु भएका हुन । 

गेटामा पुर्वाधार निर्माणमा सरकारले ७  अर्व रकम खर्च गरिसकेको छ । शनिबार मात्रै मुलुकका ७ प्रदेश मध्ये सुदूरपश्चिम बाहेक ६ प्रदेशमा सरकारी मेडिकल कलेजमा एमविविएसको पढाई हुने सूचना सार्वजनिक भएको थियो । कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ठाकुर प्रसाद ढुंगेल भन्छन, ‘शासकहरुले गरिरकेको यो सामाजिक अपराध हो । सुदूरपश्चिम अरु प्रदेश भन्दा गरिब छ, तर यही प्रदेशमा मेडिकल शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ ।’

कैलालीको गेटामा ६ सय शैया क्षमताको अस्पताल भवन, ३ सय विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास गरी ५६ वटा गगनचुम्बी भवनहरु बनिसकेका छन । यी भवनहरुसँगै विद्युत, खानेपानी, सडक, फोहरमैला ब्यवस्थापन, प्रशासनीक भवनहरु गरी सरकारको झण्डै ७ अर्व बजेट खर्च भईसकेको छ ।

शनिबार मात्रै चिकित्सा सेवा आयोगले ६ प्रदेशमा सरकारी मेडिकल कलेजमा पढाई हुने सूचना सार्वजनिक गर्दा सुदूरपश्चिमको नाम नदेखेपछि यस क्षेत्रका बासिन्दामा आक्रोस देखिएको छ । ‘पाँच÷पाँच पटक प्रधानमन्त्री भईसकेका नेताहरु, पटक पटक मन्त्री भएका नेताहरुको नालायकीपन हो गेटा’ धनगढीका स्थानीय प्रमोद पाठक भन्छन । ‘यो सुदूरपश्चिम माथिको षडयन्त्र हो ।’ उनले यसैपाली देखि गेटामा चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरे । 

सुदूरपश्चिम, पाँच÷पाँच पटक प्रधानमन्त्री भईसक्नुभएका शेर बहादुर देउवा र ४ पटक प्रधानमन्त्री भईसक्नुभएका लोकेन्द्र बहादुर चन्दको पनि प्रदेश हो । यो प्रदेशको गरिबी अरु प्रदेशको भन्दा १३ प्रतिसतले बढी छ । बढी गरिब भएको प्रदेशमा सरकारले शिक्षा र स्वास्थ्यमा बढी लगानी गर्नु पर्ने हो तर त्यसो नगरिनु सामाजिक अपराध भएको भन्दै प्रदेशबासी आक्रोसित भएका छन ।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापती चुडामणी भट्ट भन्छन, ‘सरकार बहिरो भयो । सुदूरपश्चिमको विकासका लागि अझ निर्णायक आन्दोलन जरुरी छ ।’ उनले पनि संसदमा विचाराधीन रहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पास गरेर यसै पाली देखि एमविविएसको भर्ना सुरु हुनुपर्ने माग गरे ।

सुरुवातका बेला गेटामा मेडिकल कलेज बनाउने भनिएपनि, अहिले त्यसलाई सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने गरि विधेयक तयार पारिएको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभाको शिक्षा समितिमा छलफलका लागि गएको छ । त्यहा गएको ६ महिना भईसक्दा पनि त्यो विधेयक प्रतिनिधिसभामा छलफलका लागि भने गएको छैन । मेडिकल शिक्षा र स्वास्थ्यका लागि सरकार अनुदार भएको भन्दै प्रदेशबासी आन्दोलन गर्ने चेतावनी दिन थालेका छन ।

‘गेटा आन्दोलनबाटै जन्मिएको हो । यसमा मेडिकल माफियाहरु हावि भएका छन । पुर्वाधार बनिसक्दा पनि ऐन बनेर नआउनु कत्तिको लापरवाही र विडम्बनापूर्ण कुरा हो’ सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डे भन्छन । 

गेटामा अहिले एक सय शैयाको अस्पताल खोलिएको छ । तर एमविविएसको अध्ययनका लागि ३ सय शैयाको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने कानूनी प्रावधान छ । यही अवस्था रह्यो भने यसपाली विधेयक पासै भयो भनेपनि एमविविएस भर्नाका लागि भने अझै तीन वर्ष कुर्नुपर्ने अवस्था आउने देखिन्छ ।