धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संघर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् ।
‘नेपाली जनताले पटक पटक गर्दै आएको संघर्ष र बलिदानको प्रतिफल स्वरूप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ’ उनको विज्ञप्तिमा भनिएको छ । ‘आजको यस ऐतिहासिक दिवसले यस प्रदेशमा पनि दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।’