Skip to main content

महाकाली सिँचाइ आयोजना, १८ वर्षमा २२ प्रतिसतमात्रै निर्माण

Submitted by editor on
हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । २८ किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन ।
ईबिगुल संवाददाता
महाकाली सिँचाई आयोजना

धनगढी : राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माणको कार्य १८ वर्षमा २२ प्रतिसत मात्रै भएको छ । सरकारले उक्त आयोजनामा पौने ८ अर्व रकम खर्च गरिसकेको छ ।  आयोजना सुरु भएयता ७ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको हो ।

तर १८ वर्षअघि काम सुरु भएको उक्त आयोगनाको भौतिक प्रगति भने २२ प्रतिशत मात्र देखिएको छ । ७८ प्रतिशत काम अझै हुन सकेको छैन् । २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म ७ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ । 

हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । २८ किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताए ।

इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम पुरा भएको छ । २०७७ माघ २९ गतेको निर्णयनुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । संघीय सरकारले चालु आर्थिक वर्षका लागि दुई अर्ब बजेट विनियोजन गरेको छ । 
आयोजनाको २८ दशमलव ८ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो ।

तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निर्माण कार्यले गति लिन नसकेको आयोजना कार्यालयको दाबी छ । आर्थिक वर्ष २०६२÷६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव ९ किलोमिटर मूल नहर निर्माण भएको छ ।

मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजना कार्यालयले जनाएको छ । एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।