Skip to main content

दशैंतिहारका बेला नेपालीहरु रातीको ८ बजेपछि पनि नेपाल छिर्न पाउने

Submitted by editor on
भारतको गौरीफण्टामा नेपाल–भारतका सुरक्षाधिकारीहरु बीच दशैंतिहार लक्षित बैठक
शिवराज भट्ट
मन्वयात्मक बैठक

धनगढी : दशैंतिहार लक्षित सुरक्षाका लागि नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुबीच समन्वयात्मक बैठकको आयोजना गरिएको छ । नेपाल तर्फ कैलाली र कञ्चनपुरका शसस्त्र प्रहरीका अधिकारी र भारतको एसएसबीका अधिकारीहरुबीच भारतको गौरीफन्टामा समन्वयात्मक बैठकको आयोजना गरिएको हो ।

बैठकमा नजिकै आईरहेको दशैं तिहार र छठ पर्व लक्षित सुरक्षा योजनाका बारेमा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका गणपती सशस्त्र प्रहरी उपरिक्षक दल बहादुर पाण्डेले जानकारी दिए । बैठकमा दुबै देशको सरक्षाको अवस्थाबारे खबर आदान प्रदान पनि भएको छ । 

बैठकमा सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने, सीमा क्षेत्रमा दशगजा अतिक्रमण हुन नदिने र सीमा स्तम्भहरुको सुरक्षागर्ने,  आपराधीक क्रियाकलाप नियन्त्रण गर्ने, अवैध रुपमा खोटा मुद्रा अपचलन, सामान ओसारपसार, हातहतियार ओसारपसार, लागऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीका गणपती दल बहादुर पाण्डे, नं ३५ गण कञ्चनपरका गणपती खगेन्द्र बहादुर चन्द, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३९ औं बटालियनका डिपुटी कमाण्डेन्ट विजयेन्द्र कुमार, गौरीफन्टा, फूलवारी, डोकेबजारका सशस्त्र प्रहरीका पोस्ट ईञ्चार्जहरु, भारतीय प्रहरीका गौरीफन्टा कोतवाली र प्रहरी पोस्टका ईञ्चार्जहरुको सहभागिता रहेको थियो ।

दुबै देशका सुरक्षाधिकारीहरुको बैठकमा दशैं र तिहारका बेला भारतबाट धेरै संख्यामा नेपालीहरु स्वदेश फर्किने र त्यसबेला उनीहरुमाथि लुटपाट हुने भएकाले उनीहरुको सुरक्षामा ध्यान दिन पनि बैठकमा छलफल भएको छ । 

गौरीफन्टा नाका रातीको ८ बजे बन्द हुनेगर्छ । तर बैठकमा दशैंतिहारका बेला त्यो समयभन्दा पछि सीमा नाकामा पुगेका नेपालीहरुलाई स्वदेश आउन सहजिकरण गरिदिने बारेमा पनि छलफल भएको नम्बर ३४ गणका गणपति पाण्डेले बताए ।