Skip to main content

आइतबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा गहुँबालीमा क्षति

Submitted by editor on
ईबिगुल संवाददाता
वर्षा

बाँके :आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।  किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएको डुडुवा गाउँपालिका ५ कम्दीका  किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै यादवले भने,“यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायो ।”  नेपालगञ्ज(१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पुर्‍याएको बताए । उनले भने, “काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ ।

गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्‍याएको बताए ।