दार्चुला : नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी दार्चुलाले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ ।
नेपालको भूमि प्रयोग गर्दै व्यापार सम्झौता गर्ने दुई देशको सहमतिपछि भदौ ७ र ८ गते बसेको एमाले जिल्ला कमिटी बैठकले उक्त सहमतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेका छन् । ‘नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन । यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो’, घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग पनि गरेको छ । यस घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमालेले दिएको छ । दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ ।