Skip to main content

गौरा पर्व भदौ १२ गतेदेखि सुरु, भदौ १५ गते मुख्य दिन अठवाली

Submitted by editor on
ईबिगुल संवाददाता
 गौरा पर्व

धनगढी : यस वर्षको गौरा पर्व भदौ १२ गतेबाट सुरु भई भदौ १५ गते मुख्य दिन अठवालीका रूपमा मनाइने भएको छ । अठोला पञ्चाङ्गका ज्योतिष डिल्लीराज जोशीका अनुसार, गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याबाट प्राप्त सफलताको उपलक्ष्यमा बैदिक कालदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक पर्व हो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार, यस पर्वमा ब्रतालु नारीहरूको प्रमुख भूमिका हुन्छ। भदौ १२ गते पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमी रहनेछ। यही दिन बिरुडा (पञ्च अनाज) भिजाउने परम्परा पनि रहनेछ ।  भदौ १३ गते षष्टितिथिमा बिरुडा धुने र नोला (पानीको धारामा) गौरा पूजिने परम्परा छ। भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमीमा गौरा भित्र्याउने र दुबधागो पूजाआजा गरिनेछ। मुख्य दिन भदौ १५ गते दुर्वाष्टमी व्रतमा अठ्वाली मनाइनेछ ।

गौरा पर्वले नयाँ सृष्टि, माया–प्रेमाकर्षण, पारिवारिक मिलन, सामाजिक सद्भाव र बन्धुत्वको सन्देश दिन्छ । महिलाहरू चार दिनसम्म निराहार ब्रतबसी, गौरी–महेश्वरको प्रतिमा निर्माण गरी मंगलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादसँग इच्छित फल प्राप्तिका लागि पूजा आराधना गर्ने गर्दछन् । विशेषतः यस वर्ष नवविवाहिता (नौली) महिलाहरू उज्याली गोरामा दुबधागो लगाउन पाउने हुँदा पर्व अझ उल्लासमय रहने ज्योतिषले बताएका छन् । विज्ञप्तिमा सबै नेपाली दिदीबहिनी र दाजुभाइका लागि सुख, शान्ति, स्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गरिएको छ ।