Skip to main content

भजनी नगरको बर्दवाफाँटामा जैविक तटबन्ध,स्थानीय खुशी

Submitted by editor on
ईबिगुल संवाददाता
जैविक तटबन्ध

धनगढी  : कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा  जैविक तटबन्ध गरिएको छ । भजनी नगरपालिका समन्वय र कियाको आर्थिक सहयोगमा तटबन्ध गरिएको हो ।

वहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराद्वारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं ३ बर्दवाफाँटा काँडा नदीमा सामुदायिक जैविक तटबन्ध गरिएको छ । 
बर्षेनी बर्षायाममा काँडा नदीमा बाढी आई बर्दवाफाँटा बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिनको कटानी भई थुप्रै धनजनको क्षति हुने गरेको छ । तसर्थ यसबर्ष पनि बाढी तथा डुवानले बर्दवाफाँटाको डल्फिन पर्यटकीय मार्ग नै कटानी गरी बाढी गाउँमा पस्ने थप जोखिम देखिएपछि प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत विपद् जोखिम न्यूनीकरणका तटबन्द गरिएको बहुउद्धेश्यीय विकास समाज डडेल्धुराका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिए । उनले स्थानीय समुदायको सहभागीतामा बर्दवाफाँटा विपद् व्यवस्थापन समिति टास्कफोर्सको अगुवाइमा सामुदायिक जैविक तटबन्ध गरिएको बताए ।

उक्त जैविक तटबन्धबाट बर्दवाफाँटाका ९० घरपरिवारका करिब ३६० जना प्रत्यक्ष रुपमा लाभावन्तित हुने छन  । बर्दवाफाँटाका स्थानीयहरुले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न २७ जनाको विपद् व्यवस्थापन समिति टास्कफोर्स गठन गरी, स्थानीय छलफल सहभागीता र श्रमदानमा करिब ३४.५ मिटर जैविक तटबन्ध गरेका हुन ।

सामुदायिक जैविक तटबन्धको अनुगमनको क्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीलेले स्थानीय स्तरमा बिपद् जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैविक तटबन्ध र वृक्षारोपण कार्यमा सहकार्य गरेकोमा प्रशंसा सहित धन्यवाद ज्ञापन गरे ।  उनले बाढी, डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट आफूहरुले १ लाख रुपैयाँ सहयोग गरेको र आगामी  दिनमा पनि जैविक तटबन्धका लागि थप बजेट सहित सहयोग सहकार्य गर्न तत्पर रहने बताए । अनुगमनका क्रममा भजनी नगरपालिका वडा नं ३ का अध्यक्ष विक्रम चौधरीले तटबन्ध राम्रो बनेको विपद् जोखिमको क्षेत्रमा आफूहरुको सदैव सहयोग रहने बताए । अनुगमनमा सहभागी भजनी नगरपालिका विपद् फोकल पर्सन विष्णु न्यौपानेले कम बजेटमा पनि प्राविधिक हिसाबले पनि राम्रो कार्य भएको बताए । उनले विपद् सम्वन्धि जनचेतना जगाउन एमपीडीएसले स्थानीय तहमा राम्रो कार्य गरेको बताए । 

बर्दवाफाँटा विपद् व्यवस्थापन समिति टास्कफोर्सका अध्यक्ष सविता काफ्ले ले  सामुदायिक जैविक तटबन्धले काँडा नदीले गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र वस्ती र खेतीहरु डुबान हुनबाट वच्ने  विश्वास व्यक्त गरे  । अनुगमन कार्यक्रममा भजनी नगरपालिका वडा नं. ३ की वडा सदस्य जैसरा विक, भलबन्सा टिकाराम जैशी, टास्कफोर्सका पदाधिकारी, परियोजनाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका, लगायतकाको सहभागीता रहेको थियोे  । उक्त सामुदायिक जैविक तटबन्ध भजनी नगरपालिकाको कार्यालयबाट १ लाख सहयोग, वहुउद्देश्यीय विकास समाज डडेल्धुराबाट १ लाख ३० हजार सहयोग र विपद् व्यवस्थापन समिति टास्कफोर्सको अगुवाईमा स्थानीयहरुबाट श्रमदान हुने गरी त्रिपक्षित सम्झौता अनुरुप निर्माण सम्पन्न गरिएको हो  ।