Skip to main content

कैलालीको जानकीबाट घाइते अवस्थामा उद्धार गरिएको चितुवाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
वयस्क भाले चितुवा

टीकापुर : कैलालीको जानकी गाउँपालिका –६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र बुधबार घाइते अवस्थामा उद्दार गरिएको एक वयस्क भाले चितुवाको मृत्यु भएको छ । 

शिकारीले थापेको पासोमा परेर घाइते भएको चितुवा वडा नं. ३ स्थित लायकपुर मुक्त कमैया शिविरको बस्ती छेउमै रहेको जगतपुर जाने सडक खण्डको जंगलबाट उद्दार गरिएको थियो । 

चितुवाको मृत्यु भएसँगै पछिल्ला दुई वर्षमा टीकापुर क्षेत्रमै दुई पाटेबाघ र एक चितुवा पासोमा परी मरेका छन ।  वन डिभिजन कार्यालय पहलवानपुर,बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको उद्दार टोलीले घाइते चितुवाको जिवितै उद्दार गरे पनि पहलवानपुर पु¥याएको केही समयमै चितुवा मरेको हो । 

टीकापुर सव डिभिजन वन कार्यालयका प्रमुख विश्वराज पण्डितले उद्दार गरिएको चितुवाको मरेको जानकारी दिए । ‘धेरै दिनअघिदेखि पासोमा परेर भाग्दै भाग्दै सामुदायिक वनमा पुगेको चितुवाको जिवितै उद्दार गरे पनि पहलवानपुरमा पु¥याएको केहीबेरमै मरेको हो’ प्रमुख पण्डितले भने ।  ‘पासोमा परेको चितुवा निकै कमजोर अवस्थामा फेला परेको थियो ।’ 

बर्दिया निकुञ्ज पशु संरक्षण अधिकृत डाक्टर आयुष महर्जनका अनुसार मोटरसाइकलमा प्रयोग गरिने क्लोज तारको पासोले चितुवाको छातीमा गम्भीर चोट पुगेको थियो । ‘रुखको हाँगामा राखिएको क्लोज तारको पासोले घाइते अवस्थामा फेला परेको चितुवाको छातिमा चोट लागेको देखिन्छ, घाउ हेर्दा दुई चार दिनअघि नै पासोमा परेको अनुमान गर्न सकिन्छ’ डाक्टर महर्जनले भने, ‘जंगली जनावरको शिकारका लागि थापिएको पासोमा परेर चितुवा घाइते भएको हो । यो संरक्षणका लागि चुनौतिको विषय हो ।’

यसअघि २०८० माघ ७ गते कैलालीको जानकी गाउँपालिका वडा नं.–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको थियो । सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको हो । 

२०७९ असार ७ गते बर्दिया राष्ट्रिय निकुञ्जले जिपिएस ट्रयाक गरेको पाटेबाघ टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनभित्र फलामे तारको पासोसहित मृत फेला परेको थियो । बाघको संरक्षणका लागि जिपिएस जडान गरिएको पाटेबाघ निकुञ्ज बाहिर पासोसहित मृत फेला पर्नु संरक्षणमै चुनौतिको विषय हो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणना अनुसार १ शय २५ बाघहरू छन् । देशभर ३ शय ५५ बाघ छन् ।