Skip to main content

पत्रकारहरूलाई संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षण

Submitted by editor on
क्षमता अभिवृद्धिका लागि प्रशिक्षण

धनगढी : कैलालीमा क्रियाशिल पत्रकारहरूलाई संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । संसदीय मामिला पत्रकार समाज कैलालीको आयोजनामा चिसापानीमा शुक्रबारदेखि सुरू भएको प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।

युएनडीपीको संसद सहयोग परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धिबारे पत्रकारलाई प्रशिक्षण दिइएको थियोे ।

संसदीय पत्रकारितामा लामो अनुभव भएका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा र न्यूज एजेन्सी नेपालकी सम्पादक  कृष्णा पौडेलले पत्रकारहरूलाई प्रशिक्षण दिएका थिए ।

उनीहरूले संसदीय रिपोर्टिङका आधारभूत कुरा, रिपोर्टिङका विषय, संसदभित्र के–कस्ता मुद्दाहरू उठान गर्ने लगायतका विषयबारे समेत प्रशिक्षण दिएका थिए ।

नेपालमा संघीयता कार्यान्वयनमा गएर सातै प्रदेशमा संसदीय अभ्यास हुन थालेको सात वर्ष भइसकेको छ । तर संसदीय रिपोर्टिङबारे पर्याप्त ज्ञानको अभावमा संसदभित्र हुने धेरैजसो गतिविधिहरू अपेक्षाकृत रूपमा उजागर हुन सकिरहेका छैनन् ।

सोही कुरालाई मध्यनजर गरि संसदीय रिपोर्टिङमा क्रियाशिल पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको संसदीय मामिला पत्रकार समाजले जनाएको छ ।

यस्तै, संसदीय पत्रकार समाजले शनिबार नै प्रदेश सभा सदस्यहरूसँग अनुभव आदानप्रदान तथा अन्तरक्रिया समेत गरेको छ । सो क्रममा पत्रकारहरूले प्रदेश सभामा समाचार संकलनका क्रममा व्यहोर्नुपर्ने परेका जटिलता र सहजताबारे आफ्ना अनुभव सुनाएका थिए ।
पत्रकारहरूले प्रदेशसभासँगै विषयगत समितिको बैठकहरूमा समेत समाचार संकलनका लागि सहज र नियमित रूपमा सहभागीता गराउनुपर्ने जोड दिएका छन् ।

प्रदेश सभा सदस्यहरूले  पनि सञ्चार माध्यमले खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा धर्मराज पाठक, डा. ताराप्रसाद जोशी, जानकी कुवर र रामेश्वर चौधरी तथा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको सहभागीता थियो ।

पत्रकारलाई संसदीय रिपोर्टिङबारे क्षमता अभिवृद्धि प्रशिक्षण तथा पत्रकार र सांसदबीचको अन्तरक्रिया कार्यक्रममा सहजीकरण गरेको युएनडिपीको संसद सहयोग परियोजनाकि संसद मामिला अधिकृत क्यारिना श्रेष्ठले कार्यक्रमको उदेश्यबारे जानकारी दिएकी थिइन् ।