Skip to main content

सुजंग अस्पतालमा बालिका मृत्यु प्रकरण : नियन्त्रणमा रहेका चिकित्सक छुटे, बालिकाको पोष्टमार्टम हुदै

Submitted by editor on
ईबिगुल संवाददाता
सुजंग अस्पताल

धनगढी : डोटीको सुजंग अस्पतालमा मृत बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । पिडितका आफन्तहरुले दिएको जाहेरीका आधारमा उक्त घटनाको छानविन र कानूनी कारवाहीका लागि प्रहरीले मुद्धा दर्ता गरेपछि आफन्तहरुले शव पोस्टमार्टम गर्न मानेका हुन । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी सूर्यप्रकाश भट्टले आफन्तले दिएको जाहेरी अनुसार मुद्धा अघि बढेको बताए । बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएपछि प्रहरीले नियन्त्रणमा रहेका दुईजना चिकित्सक र एक जना विएस्सी एनेस्थेसियालाई छोडेको छ ।

बुधबार राती डोटीको दिपायलमा रहेको सुजंग अस्पतालमा सल्यक्रिया गर्नेक्रममा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की ९ वर्षिया वालिका रजनी भूलको सल्यक्रियाकै क्रममा ज्यान गएको थियो । 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की रजनीको शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्नेक्रममा हात भाँचिएको थियो । १७ गते आमा ज्ञानु भूलसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाचिएको हो ।

हात भाचिएपछि मामा प्रकाशले उनलाई उपचारका लागि आफ्नै मोटरसाईलमा राखेर सुजंग अस्पताल दिपायल पुगाएका थिए । २१ गते बेलुकी साढे ७ बजेतिर अप्रेशन थिएटरमा लगिएकी रजनीलाई रातीको १० बजेसम्म पनि बाहिर नल्याएपछि आफन्तले उनको मृत्युभएको जानकारी पाएका थिए ।

कामका लागि भारतमा रहेका मृतकका बुवा पनि दिपायल पुगिसकेका छन । आफन्तहरुले उपचारमा लापरवाही गर्ने चिकित्सकहरुलाई कारवाहीको मागगर्दै कानूनी कारवाहीको माग गरेका छन । 

प्रहरीले घटना पछि नियन्त्रणमा राखेका अर्थोपेडिक सर्जन डाक्टर सुरेन्द्र कुमार चौधरी, अर्का चिकित्सक राजमणी यादव र विएस्सी एनेस्थेसिया अभिषेक यादवलाई आज छोडेको छ । अस्पतालले प्रशासन बालिकाको सल्यक्रियाका बेला एनेस्थेसीयाको रिएक्सन भएको प्रतिक्रिया दिएको छ । 

अस्पतालका सञ्चालक तथा प्रवक्ता अर्जुन बलायरले बालिकालाई अप्रेशन थिएटरमा लगेपछि एनेस्थेसिया रिएक्सन भएर ज्यान गएको बताएका छन ।