Skip to main content

सफलताको कथा : यज्ञको मिलदेखि गोदावरी मार्वलसम्मको यात्रा

Submitted by editor on
एउटा सामान्य राईस मिलको यात्राबाट आफ्नो ब्यवसायीक करिअर सुरु गरेका यज्ञले २०८१ सालको चैत १५ गते सुदूरपश्चिमको राजधानी धनगढीको सहिदगेट नजिकै गोदावरी टायल एण्ड मार्वल्सको भब्य समारोहका बीच उद्घाटन गराए ।
शिवराज भट्ट
यज्ञराज भट्ट

धनगढी : २०४८ सालतिरको कुरा हो, महेन्द्रनगर नगरपालिका वडा नम्बर ६ हल्दुखालमा यज्ञराज भट्टको गहुँ पिस्ने र तेल पेल्ने मिल थियो । मिलको नाम जगन्नाथ राईस  मिल भएपनि सबैले त्यसलाई ‘यज्ञको मिल’ भनेर चिन्थे । बैतडीको खलंगा नजिकैको रिचपालामा जन्मेकाले पनि होला, उनले आफ्नो कुलदेवताको नामले मिलको नाम  जगन्नाथ राखेको हुनुपर्छ ।

‘यज्ञको मिल’ महाकाली जनसेवा मावि हल्दुखाल जाने बाटोमै थियो । म त्यतीबेला महाकाली जनसेवामा कक्षा ८ मा पढथे । विद्यालय जाने बाटोमै पर्ने भएकाले पनि विद्यालय जाने बेला साईकलमा गहुँ पुगाएर जाने र बिदा भएपछि ल्याउने गरिन्थ्यो । यो क्रम करिब तीन÷चार वर्ष रह्यो । २०५० सालमा एसएलसी (एसईई) दिएपछि मात्रै ‘यज्ञको मिल’ को मेरो यात्रा समाप्त भयो ।

नेपाल प्रहरीको प्रहरी नायव निरिक्षक पदबाट सेवानिबृत भएका बुवा हेमराज भट्टले २०४८ सालमा मिलको स्थापना गरेका थिए । प्रमाणपत्र तहसम्मको शिक्षा लिदै गरेका बेला यज्ञले बुवाले स्थापना गरेको मिल सम्हाल्न थाले । सुरुका केही वर्ष तेल पेल्ने र गहुँ पिस्ने काम मिस्त्रीले गरेपनि त्यसपछिका दिनमा अथवा मैले मिलमा जाँदा यज्ञ आफै काममा खटिएका देखिन्थे ।

महाकाली जनसेवाको मेरो पढाई सकिएपछि यज्ञसँगको मेरो सम्पर्क टुट्यो । उच्च शिक्षाका क्रममा कहिले महेन्द्रनगर बजारतिर त कहिले भारततिर लागिएकाले पनि उनीसँगको खासै उठबस हुन पाएको थिएन । 

तर एउटा सामान्य राईस मिलको यात्राबाट आफ्नो ब्यवसायीक करिअर सुरु गरेका यज्ञले २०८१ सालको चैत १५ गते सुदूरपश्चिमको राजधानी धनगढीको सहिदगेट नजिकै गोदावरी टायल एण्ड मार्वल्सको भब्य समारोहका बीच उद्घाटन गराए । नेपाली सिनेजगतका सुपरस्टार विराज भट्ट, चर्चित गायक चक्र बम र उनका बुवा हेमराज भट्टले सोरुमको उद्घाटन गरे ।

सोरुममा करिब १५ करोड भन्दा बढीको लगानी रहेको उनले बताए । भारतको नम्बर वान ‘कजरिया’ ब्राण्डको टायल र मार्बलको उनी सुदूरपश्चिमका अधिकृत विक्रेता बनेका छन । भारतका विभिन्न दर्जन स्थानमा उद्योग स्थापना गरिसकेको ‘कजरिया’ ले केही महिना अघि मात्रै नेपालको भैरहवाबाट उत्पादन सुरु गरेको थियो ।

‘टायल र मार्बलको दुनीयामा ‘कजरिया’ ब्राण्ड विश्वप्रसिद्ध छ । यस कम्पनीको अधिकृत विक्रेता हुन पाउदा खुसी लागेको छ’ आफ्नो मील सञ्चालनका बेलाको ब्यवसाय स्मरण गर्दै यज्ञले भने । ‘मलाई नेपालमै भविष्य खोज्नुपर्छ भन्ने जुनून थियो ।’ 

यज्ञले कान्छा छोरा विरेन्द्र भट्टलाई नेपालमै रोक्नका लागि गोदावरी टायल एण्ड मार्बलको म्यानेजिङ डिरेक्टर बनाएका छन । २ करोड भन्दा बढी लगानी सोरुमको सजावटमै गरेका उनले आफुसँग घर निर्माण पछि चाहिने ईन्टेरियर (घरभीत्रको सजावट) का मात्रै १५ करोड बढीको सामान रहेको दाबी गरे ।

उनको पसलमा अहिले भारतकै ‘जैकवार’  र ‘सिल्कवेयर’ ब्राण्डका फिटिङहरु पनि छन । १० वर्षसम्मको वारेन्टी भएका अत्याधुनीक धारा, फिटिङ, टुटी, कम्बोडहरुको पनि उनी अधिकृत विक्रेता हुन । उनको पसलमा दक्षिण भारतको ग्रिनाईट पनि पाईन्छ । 

मोडुलर किचेन (अत्याधुनीक भान्सा) उनको अर्को ध्येय हो । ‘ब्यक्ति घर बनाउछ तर घरभीत्रका फिटिङहरु सहजै पाउदैन । धनगढीमा छान्न सकिने गरि सामान पाईदैन । तर गोदावरीमा ती सबै सामान छानीछानी पाउने गरि स्टक राखेको छु’ उनको दाबी छ । 

उनको पसलमा स्पलाईस ब्राण्डका लेमिनेट पनि पाईन्छ । ३० वर्ष वारेन्टी भएका सोलिड ढोका, जाली ढोका, म्यामरेन ढोका पाउने उनले बताए । ‘अरु सामान भन्दा महंगो छैन । यसमा धमिरा पनि लाग्दैन । सुन्दर पनि हुन्छ । पुरानो खालका प्लाईका ढोकाको मूल्य भन्दा खासै महंगो पनि छैन । तर ब्यक्तिहरु खोजेर पनि सामान नपाउने समस्या छ । त्यसकै पूर्तीका लागि सोरुम खोलिएको हो’ उनले भने ।

यस्तो थियो उनको ब्यवसायीक यात्रा
बुवाले २०४८ सालमा खोलिदिएको मिलमा दैनिक जसो २÷३ सय कमाई हुने गथ्र्यो । तेल र धान कुटने मेसिन राखेपछि त्यसमा केही सुधार आयो । बुवा नेपाल प्रहरीका जागिरे भएकाले उनले विदेश जान चाहेमा उनलाई अरुको भन्दा सहज पनि थियो । तर उनले विदेश जाने सोच कहिल्यै बनाएन ।

उनको जगन्नाथ  राईस मिलको यात्रा करिब ३० वर्षको रह्यो । उनले मिलबाट मात्रै मनग्य आम्दानी नदेखेपछि ब्यवसायमा अर्को आयाम थपे । देश संघीयतामा गएसँगै ब्यापार पनि कैलालीतिर सर्दै गएको उनलाई अनुभूती भयो । उनले २०७६ सालमा सुदूरपश्चिमका ७ वटा पहाडि जिल्लाको प्रवेशद्वार मानिएको अत्तरियामा हार्डवयरको ब्यवसाय सुरु गरे । गोदावरी हार्डवयर नामबाट सुरु गरिएको ब्यवसायमा उनले ग्लासेज (शिसाहरु) प्लाईउट र फिटिङ आईटमको होलसेल गर्दा उनको ब्यवसायको नाम गोदावरी ट्रेडिङ ग्रुप प्रालि भयो । 

ब्यवसायमा केही सुधार भईरहेको थियो । तर ६ महिना नबित्दै कोरोना सुरु भयो । ‘लगानी बढिसकेको थियो, तर कोरोनाले सबै ध्वस्त बनायो । मानिसलाई बाँच्ने कसरी ? भन्ने चिन्ता भईरहेका बेला मेरो ब्यवसाय फस्टाउने कुरै थिएन । तर मैले हिम्मत हारेन । अढाई वर्षको कोरोनाकालमा पनि सन्तुलन नगुमाएर लागि रहे’ उनले भने ।

२०७९ सालमा अथवा २ वर्ष अघि मात्रै यज्ञले आफ्नो ब्यवसाय धनगढी सहिदगेट नजिक सारेका हुन । करिब १४ कट्टा जग्गा, १५ वर्षका लागि भाडामा लिएर उनले गोदावरी टायल एण्ड मार्बलको ब्यवसाय पनि सुरु गरेका हुन । अहिले उनको एउटै स्थानमा गोदावरी ट्रेडिङ ग्रुप प्रालि र गोदावरी टायल एण्ड मार्बल सञ्चालनमा छन ।