धनगढी : सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण कैलालीले १० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधीसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीले धनगढी उप–महानगरपालिका–७ मोतिचोक क्षेत्रमा सोमबार दिउँसो भारतबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–५ पवेराका ३० वर्षीय मनोज कुमार चौधरी र गौरीगंगा नगरपालिका–१० उदासीपुरका २६ वर्षीय खेमराज चौधरी रहेका छन् । उनीहरूबाट औषधीसहित एक वटा मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बरामद गरिएको औषधीको मूल्य रु १० लाख ६५ हजार १८५ बराबर हुने बताइएको छ । पक्राउ परेका व्यक्तिसहित बरामद औषधी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ ।