धनगढी : सुदूरपश्चिम महोत्सवमा १५ करोडको कारोबार हुने अनुमान गरिएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्षको मङ्सिर २२ गतेबाट सञ्चालन गर्दै आएको महोत्सवको १८ औँ संस्करणमा १५ करोडको कारोबार हुने अनुमान गरिएको हो ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सव स्थलमा पाँच सयको सङ्ख्यामा स्टलहरू निर्माण गरिएका छन । उक्त स्टलहरूबाट १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महोत्सवको तयारी ७० प्रतिशत पूरा भएको बताए ।
सुदूरपश्चिम महोत्सवमा स्थानीय परिकार, थारू गाउँ लगायतका विशेषता रहेका छन । हालसम्म ९५ प्रतिशत स्टलहरू बुक भएका आयोजकले बताएको छ। महोत्सव सञ्चालनका लागि मूल आयोजक समितिसहित २९ उप–समितिहरू रहेका छन ।
व्यावसायिक कृषि प्रदर्शनी, उद्योग व्यापारको प्रवर्धन तथा कला, संस्कृतिको संरक्षण एवम् प्रवर्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए। यो वर्षको महोत्सवमा पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।